अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह 'ड्रिम्स'बाट नेपाली फिल्ममा प्रवेश गरेकी हुन्। डेब्यू फिल्मबाट पर्याप्त चर्चा बटुलेकी उनी अहिलेकी चल्तीकी कलाकार हुन्। बेलाबखत विवादमा तानिइने उनीसँग गरिएकाे कुराकानी ।

व्यस्त देखिनुहुन्छ। समय व्यवस्थापन गर्न कत्तिको गाह्रो छ ? अहिले गाह्रो नै भइरहेको छ। फिल्म 'कायरा'को सुटिङ बाँकी नै छ। नयाँ फिल्म 'तिमीसँग'को प्रिमियरको भोलिपल्ट लन्डन जाँदैछु। 'इन्टु मिन्टु' फिल्मको काम पनि केही भ्याएकी छैन।

'तिमीसँग'को प्रमोसन कस्तो भइरहेको छ ? मेरो डेब्यू फिल्म 'ड्रिम्स'को प्रमोसनमा भुवन जी (भुवन केसी)ले मलाई कतै पनि लानुभएन। दोस्रो फिल्म 'ए मेरो हजुर–२' मा निर्माताले भनेको ठाउँमा मात्रै प्रमोसनका लागि गएकी थिएँ। तर, 'तिमीसँग'को प्रमोसनमा भने पहिलो पटक 'डेडिकेटेड' भएर लागेकी छु।

'तिमीसँग' कस्तो फिल्म हो ? त्रिकोणात्मक प्रेमकथा भएको फिल्म हो। यसमा म नीतिको भूमिकामा छु। नीति नेपाली भए पनि बाहिर हुर्केकी केटी हो। पहिलो पटक ऊ नेपाल घुम्न आउँदाको अनुभव यसमा छ।

यो फिल्मबाट यसअघि तपाईंले पाएको सफलता जोगाउन मुश्किल पर्नसक्छ भन्ने टिप्पणी भइरहेको छ नि ? फिल्म चाहिँ राम्रै बनेको छ। मैले यसमा आफ्नो 'बेस्ट' दिएकी छु। तर, दर्शक नै सबथोक हो। उहाँहरूले नै वास्तविकता छुट्याइहाल्नुहुन्छ।

एक–दुइटा फिल्म गर्दैमा चर्चामा आउने कलाकार नेपाली फिल्म इन्डस्ट्रीमा निकै कम छन्। तर, तपाईं पहिलो फिल्मबाटै चिनिनुभयो। यो कसरी भयो ? त्यो चाहिँ दर्शकलाई सोध्नुपर्छ। मैले आफूले गर्नुपर्ने मेहनत गरेकी हुँ। उहाँहरूलाई मेरो आवाज नयाँ लागेर पनि होला। मलाई पहिलो फिल्ममै रुचाइदिनुभयो। यो आवाजकै कारणले गर्दा हो कि ?

सबै लभ स्टोरी भएका फिल्ममा मात्रै काम गर्नुभयो। अब अलि फरक फिल्म वा चरित्रमा अभिनय गर्ने सोच छैन ? लभ स्टोरी कहिले पनि 'अफ द टपिक' हुँदैन। म आफैँलाई पनि रोमान्टिक फिल्म मन पर्छ। लभ स्टोरी भए पनि प्रत्येकमा भिन्न क्यारेक्टरमा अभिनय गरेकी छु। म पनि नयाँ स्क्रिप्ट चाहन्छु तर सबै लभ स्टोरी आइरहेको छ।

तर, दर्शक साम्राज्ञी भिन्न भूमिकामा आएको हेर्न चाहँदैनन् र ? कतिपय फिल्ममा मैले फरक रोल निर्वाह गर्न चाहे पनि त्यस्तो स्क्रिप्ट आउँदैन। म राम्रो स्क्रिप्ट कुरिरहेकी छु। त्यस्तो आयो भने निःसन्देह गर्छु।

'ए मेरो हजुर–२' मा तपाईंले पाँच लाख रुपैयाँ पारिश्रमिक लिँदा महँगो भयो भन्ने चर्चा गरियो। त्यो साँच्चिकै महँगो हो त ? यसलाई म महँगो भन्दिनँ। हरेक कुरा महँगो भइरहेको छ। तर, जति मेहनत गरे पनि महँगीअनुसार पारिश्रमिक बढिरहेको छैन। दुःख गरेअनुसार नै मैले पारिश्रमिक बढाउँदै गइरहेकी छु। एउटा फिल्मका लागि हामीले आफ्नो पढाइ, व्यक्तिगत जिन्दगी छोडेर काम गरिराख्नुपर्छ। एउटा फिल्मको सुटिङ नै पाँच–छ महिना हुन्छ। त्यसपछि प्रमोसनमा पनि हिँड्नुपर्छ। त्यसैले यत्तिको पारिश्रमिक हामी 'डिर्जभ' गर्छौं। फिल्म निर्माताले त्यति धेरै नाफा कमाउँछन्। तर, हामीले त एक पटक मात्रै लिने हो। त्यसलै हामीले पाउनुपर्ने कुरा पाउनुपर्छ।

तपाईंको 'को–एक्टर' नाजिर हुसेनसँग बोलचाल बन्द भएको चर्चा चलेको थियो। गसिप मात्रै हो कि सत्य हो ? त्यस्तो बोलचाल नै बन्द भएको छैन। जति कलाकारसँग मैले काम गरेँ, उहाँहरू सबैसँग म राम्ररी बोल्छु। नाजिर र म सुटिङ या फंक्सनहरूमा भेट भएका बेला बोलिरहेका हुन्छौँ। त्योबाहेक हाम्रो निजी जीवन पनि हुन्छ। बरु नाजिर र म धेरै मिल्ने भएकाले सुटिङमा एक पटक ठाकठुक परेको थियो। हामी एक हप्तापछि बोल्न थालेका थियौँ। त्यसैलाई बढाइचढाइ गरेर चर्चा गरिएको होला।

तपाईं अरू बेला चुपचाप बस्नुहुन्छ, फिल्म रिलिज हुने बेलामा मात्रै मिडियामा आउनुहुन्छ। खास कुरो के हो ? हो, त्यो म गर्छु। फिल्म साइन गरेपछि त्यसलाई समय दिनुपर्छ। त्यतिबेला उहाँहरूले बोलाएको बेला म जतिबेला पनि आइपुग्छु। तर, त्योबाहेक मेरो पनि त आफ्नो निजी जिन्दगी हुन्छ। मैले पढ्नुपर्छ। जहिले पनि मिडियामा उपलब्ध भइराख्न सजिलो पनि छैन। आफ्नो फिल्मको प्रमोसन गर्ने बेला उपलब्ध भइदिन्छु। अरू बेला मलाई मिडियामा आउन त्यति ठीक पनि लाग्दैन।

बेला–बेलामा तपाईंका प्रेम सम्बन्धबारे चर्चा भइरहन्छ । अहिले प्रेम सम्बन्धमा हुनुहुन्छ ? म त्यो भन्न चाहन्नँ। भन्न जरुरी पनि लाग्दैन। हामीले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवन छुट्याउनुपर्छ। कहिल्यै पनि निजी जिन्दगीलाई व्यावसायिक जिन्दगीमा मिसाउनु हुँदैन भन्ने मलाई लाग्छ। तर, यहाँ यस्ता चर्चा भइरहन्छन्। यसले मलाई केही फरक पर्दैन। अहिले म पढाइ र करिअरमा मात्रै 'फोकस्ड' हुन चाहन्छु।

केही समयअघि छातीमा ट्याटू खोपेको तस्बिर सार्वजनिक भएपछि तपाईंको निकै आलोचना भयो। यस्ता कुराले करिअर बिग्रन सक्छ भन्ने कुरामा कत्तिको सचेत हुनुहुन्छ ? एकदमै सचेत छु। नचाहेको कुरा बाहिर आउँदा मलाई मात्रै होइन, दर्शकलाई पनि नराम्रो लाग्न सक्छ। यस्ता कुराले असर गर्छ पनि। त्यो जानी–जानी सार्वजनिक भएको होइन, असावधानीवश भएको हो। तर, म मेहनत गरिराख्छु, अघि बढिराख्छु। म आफ्नो मेहनतले नै सबैको मुख बन्द गराउन चाहन्छु। म लुकेर चाहिँ बस्दिनँ।

पहिलो पटक क्यामरा फेस गर्दा कस्तो लाग्यो ? क्यामराअघि बोल्दा चाहिँ डर लागेको थियो। सुटिङ गर्दा फिल्मको पार्ट–पार्ट गरी गरिन्छ। त्यो 'सिरियल वाइज' हुँदैन। तर, मैले पहिलो पटक सुटिङ गर्दा सुरुमै 'कलाइमेक्स' सिन गरेकी थिएँ। फिल्म चल्दा त सुरुमै यस्तो आउँदैन ? यो कसरी भयो ? भन्ने लागेको थियो। के भएको हो भन्ने कुरामा अलमलिएकी थिएँ।

कतिपय कलाकारलाई आमाबाबुका कारण चलेको भन्ने टिप्पणी गरिन्छ। तपाईंका हकमा वास्तविकता के हो ? मेरो हकमा यो लागू हुन्न। मेरो मामु पनि कलाकार होइन। पापाले एउटा मात्रै विज्ञापनमा मोडलिङ गर्नु भएको थियो। त्यसपछि फिल्म खेल्न धेरे अफर आएका थिए तर उहाँले कुनै पनि खेल्नुभएन। हाम्रो ठकुरी परिवारमा छोरीले राम्रोसँग नपढे राम्रो केटा खोजेर बिहे गरिदिने चलन हुन्छ। सबैको चाहना डाक्टर, पाइलट बनाउने हुन्छ। मेरो पापा पनि यस्तै चाहनुहुन्थ्यो। म फिल्ममा आउँदा मेरो परिवारलाई मन परेको थिएन। 'राम्रो घरको छोरीचेली किन फिल्म क्षेत्रमा लाग्नुपर्‍यो ?' भन्ने उहाँहरूको सोचाइ थियो। तर, मामुले 'छोरीको इच्छा फिल्म क्षेत्रमै काम गर्ने छ, उसलाई काम गर्न दिऊँ' भन्नुभयो। त्यसपछि म फिल्म क्षेत्रमा आउन पाएँ।

नेपाली फिल्ममा के–के परिवर्तन देख्नुभएको छ ? पहिले कम खर्च गरेर फिल्म बनाउने तर मुनाफा धेरै लिन खोजिन्थ्यो। तर, अहिले केही परिर्वतन आए जस्तो लाग्छ। धेरै खर्च गरेर राम्रो फिल्म बनाउनुपर्छ भन्ने सोच अहिले आएको छ। त्यस्तै स्क्रिप्ट, मेकिङमा पनि परिर्वतन आएको छ।

तपाईंलाई मन पर्ने कलाकार को–को हुन् ? नम्रता श्रेष्ठ, आर्यन सिग्देल, कर्मा शाक्य, सौगात मल्ल मन पर्छन्।

आउँदो पाँच वर्षमा साम्राज्ञीको कस्तो 'स्ट्याटस' हुनेछ ? त्यो चाहिँ मेलै सोचेकी छैन। म अझै राम्रो क्यारेक्टर गर्न पाऊँ। दर्शकलाई 'साम्राज्ञीले राम्रो काम गरिरहेकी छे' भन्ने 'स्ट्याटस' बनाउन चाहन्छु।