धरान/धरान उपमहानगरको उपनिर्वाचन नजिकिँदै जाँदा सङ्घीय लिम्बुवान मञ्च नेपालमा आवद्ध मजदुरहरूले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

मञ्चको जिल्ला कार्य समिति र नगर समितिमा आवद्ध ४ सय २६ जना नेता कार्यकर्ताले एकसाथ पार्टी परित्याग गरेको घोषणा गरेका छन् । तर, लिम्बुवानका जिल्ला नेता तथा मेयरका उम्मेदवार अमर इजम लिम्बूले भने आफ्नो पार्टीको ५–७ जनाभन्दा बढी कार्यकर्ता नभएको स्पष्ट पारे । उनले केही मजदुर आफ्नो पार्टीको भए पनि धेरैजना आफ्नो पार्टीको नभएको र उनीहरूलाई आफूले नचिन्ने दाबी गरे ।

पार्टी परित्याग गर्नेको नेतृत्वकर्ता भने भातृ संस्थाका एलपी केन्द्रीय सिनियर कमाण्डर प्रेम गुरुङ छन् । उनको नेतृत्वमा एलपी केन्द्रीय सिनियर कमाण्डर सिजन राजधामी, जिल्ला बरिष्ठ उपाध्यक्ष रितेश लिम्बूलगायत जिल्ला तथा नगरका नेता छन् । रितेशलाई भने पार्टीले केही दिनअघि विज्ञप्ति जारी गरेरै कारवाही गरेको घोषणा गरेको थियो ।

limbuwan-party-parityag

उम्मेदवार इजमले उसैको (रितेश) डिजाइनमा पार्टी परित्याग गरिएको घोषणा गरिए पनि कतिपयलाई जानकारी नदिई नै विज्ञप्तिमा नाम उल्लेख गरेको आफूले पाएको बताए । सिद्धान्तभन्दा बाहिर गएर पार्टी चलाएको नातावाद, कृपावाद हाबी भएको कमाण्डर प्रेम गुरुङको आरोप छ । चुनावी माहौलमा पार्टी परित्यागले लिम्बुवान पार्टीलाई ठूलै धक्का लाग्ने महसुस गरिएको छ ।