भद्रपुर /  केही समय अघि झापाका विभिन्न गाउँपालिका तथा नगरपालिका क्षेत्रमा देखिएको फौजी किराको प्रकोप नियन्त्रणमा आएको छ । कृषि ज्ञान केन्द्र झापाले दिएको जानकारी अनुसार धान बालिमा लाग्ने फौजी किराको प्रकोप, ज्ञान केन्द्रको प्राविधिक सहयोग, स्थानीय तहका कृषि प्राविधिक तथा जनप्रतिनिधिहरुको सक्रियतामा नियन्त्रणमा आएको हो ।
झापाको गौरादहको ५ र ६, गौरिगञ्जको १ र ५, झापाको ३, कन्काइको ५,कमलको २, तथा हल्दीबारीको ४ र ५ वडामा देखिएको फौजी किराको प्रकोप हाल नियन्त्रणमा आएको ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाको कुल ८७ हजार ३ सय हेक्टरमा धान बालि लगाइएकोमा २ सय ८३ हेक्टरमा फौजी किराको प्रकोप देखिएको ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले वताए ।
फौजी किराको प्रकोप हाल नियन्त्रणमा आए पनि बेलैमा सचेत नभए यस किराले फेरी पनि दुख दिन सक्ने सिंहले वताए । सचेत रहन र धान बालिमा लाग्ने फौजी किराको आतङ्कबाट वच्न वेला वेलामा औषधि प्रयोग गर्न समेत सिंहले कृषकहरुलाई आग्रह गरेका छन् ।