दमक / उपभोक्ता समितिका अध्यक्षको मृत्युलाई लिएर सोमबार दिनभरजसो झापाको गौरादह नगरपालिका घेराउ गर्दै स्थानीयबासीले नाराबाजी गरेका छन ।

विरोधमा उत्रिएका स्थानीयवासीले नगरपालिका परिसरमा नाराबाजी गरेका हुन् । स्थानीय प्रशासनले नगरपालिका परिसरमा बाक्लो सख्यामा प्रहरी परिचालन गरेको थियो । गौरादह नगरपालिका ८ भुडिसिमलका ५८ वर्षीय धनवीर राजवंशीको मृत्युको कारण नगरपालिकाका इन्जीनियर सचिन क्षेत्री रहेको भन्दै स्थानीयबासीले नारावाजी गर्द विरोध प्रर्दशन गरेका हुन ।

मृतक राजवंशी आइतबार दिउँसो १ बजे भुडिसिमल बैराती बजारस्थित टहरा निर्माणको भुक्तानीका लागि गौरादह नगरपालिकाको कार्यालय गएका थिए । सोहि विषयलाई लिएर टहरा निर्माण समितिका अध्यक्ष राजवंशी र नगरपालिकाका इन्जिनियर सचिन क्षेत्री बिच बिवाद हुदा राजबंशी बेहोस भएर ढलेका थिए ।

उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । राजबंशी मुटु र रक्तचापका कारण विरामी रहेको मृतकका छोरा सूर्य राजबंशीले जानकारी दिएका छन् ।