ताप्लेजुङ/ सुदुरपूर्वी जिल्ला ताप्लेजुङका विभिन्न गाउँबाट प्रहरीले १ सय २५ थान बन्दुक सङ्कलन गरेको छ । पछिल्लो समय बन्दुक सङ्कलन अभियानलाई तिव्रता दिएको प्रहरीले सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो ।

१० नाल ब्यारेल सहित अवैध हतियार ८५ नाल, इजाजत लिएर राखेका ४० नाल र १२ बोरको ५ राउण्ड गोली बरामद गरेको प्रहरी नायव उपरिषक संञ्जयसिंह थापाले बताए । हतियार संकलनका लागि सबै सुरक्षा निकाय सकृय भएको र गाउँका प्रहरीलाइ विशेष परिचालन गरिएको थापाले बताए ।

अधिकांश हतियार भरुवा बन्दुक हुन् । जिल्ला प्रशासन कार्यालयले आफुसँग भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक सूचनामार्फत् नागरिकलाई अनुरोध गरेको थियो । यो अवधिमा हतियार बुझाउनेलाई कुनै कानूनी कारबाही नहुने उल्लेख छ । हतियार संकलनको अवधि सकिएपछि प्रहरीले सोमबार प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सहित जिल्लाका सबै सुरक्षा प्रमुखहरु, उद्योगी, ब्यापोरी, ब्यवसायी लगायतको उपस्थितिमा संकलन गरिएको हतियार सार्वजनिक गरेको छ ।

सरकारले आफूसँग रहेको अवैध हतियार बुझाउन नागरिकलाई ३५ दिनको समय दिएको थियो । ताप्लेजुङले एक नम्बर प्रदेसमै सबैभन्दा बढी हतियार सङ्कलन गरेको छ । ३५ दिने सूचनाको म्याद बेसाख ६ गते समाप्त भएको छ । अब पनि अवैध हतियार भेटिए कारवाही हुने डिएसपी थापाले बताए ।