फागू पूर्णिमालाई होलीको रूपमा मनाउने गरिएको छ । घरपरिवार, छिमेकी, साथीभाइ मिलीजुली एकै ठाउँमा भेला भई एकले अर्कालाई अबिर लगाइदिएर यो चाड मनाउँछौं । तर, अहिले यस चाडलाई तन्नेरी पुस्ताले फरक ढंगले मनाउने गरेका छन् । उनीहरूले अबिर मात्र प्रयोग नगरेर विभिन्न थरीका झोलको रूपमा आउने रसायनयुक्त तयारी रङहरूका साथै ग्रिचजस्ता सामग्री पनि प्रयोगमा ल्याउन थालेका छन् । जुन, सामान्य धुलाइले जाँदैन ।

धेरै सावधानी अपनाएर छाला र कपाललाई यस्ता रसायनबाट बचाउन आवश्यक छ । अन्यथा, यसले मुहालगायत अन्यत्रको छालालाई बिगार्नुका साथै एलर्जी, घाउ, खटिराजस्ता समस्या आउँछन् । यस्तै, रंगहरूले कपाललाई रुखोका साथै फुस्रो र चमकविहीन बनाउँछ । यसले कपालमा भएको प्राकृतिक चमकका साथै पोषणलाई नष्ट पार्छ । 

छाला र कपाललाई जोगाउने तरिका

हामी होली खेल्न घर बाहिर निस्कन्छौं । त्यसअघि नै फेसमा मोस्चराइजर राम्ररी लगाएर त्यसमाथि फेरि सनब्लक लगाउने । सनब्लक मुहारको छालासँगै प्रत्यक्ष रङ पर्ने शरीरका हरेक अंगको छाला जोगाउन त्यसमा पनि सनब्लक क्रिम लगाउने ।

यस्तै, कपालमा पनि हलुकासँग तेल मालिस गरेर तथा कपाललाई, स्काफले ढाकेर रङ खेल्न जानु उपयुक्त हुन्छ । यसो गर्दा रसायनयुक्त रङ कपाल र छालामा लाग्दा पनि धेरै मात्रामा कपाल र छालाको बचावट हुन्छ । साथै रङलाई कपाल र छालाबाट हटाउन पनि सजिलो हुन्छ ।

यसै क्रममा छालामा लागेको रङ हटाउँदा पहिला हलुका क्लिजिङ गरेर त्यसलाई उतार्ने । अनि मात्र फेसवास गर्ने । यसो गर्नाले छालाको सुन्दरता ह्रास हुँदैन । रसायनयुक्त रङले छालालाई बिगार्न पाउँदैन ।

यस्तै, अगाडि नै तेल लगाएको हुनाले होली खेलेपछि कपाललाई सोझै सेम्पुले सफा गर्न सकिन्छ । तर, स्याम्पुपछाडि कन्डिस्नरको प्रयोग नगरेर क्यारेटियनयुक्त ट्रिटमेन्ट गर्नु

राम्रो हुन्छ । यसो गर्दा कपाललाई रुखो तथा फुस्रो हुनबाट जोगाउनुका साथै क्यारेटियनयुक्त ट्रिटमेन्टले कपाललाई पोषणयुक्त र स्वास्थ्य बनाइदिन्छ ।

सावधानी

होलीमा रङ वा अबिर कान तथा आँखाभित्र छिर्ने र यसले आँखा र कानलाई पत्यक्ष असर पार्ने गरेको धेरै पाइएको छ । त्यसैले, रङ खेल्दा आँखा र कानका साथै अन्य संवेदनशील अंगलाई पनि यसको प्रभावबाट जोगाऔं ।

पाउडर रङ किनेर ग्रिचमा घोलेर लगाउँदा छालाका लागि यो अत्यन्त हानिकारक हुन्छ । यसले छालालाई प्रत्यक्ष असर पारेर क्यान्सरसमेत हुनसक्छ । त्यसैले, ग्रिचयुक्त सिल्भर तथा सबै रङको प्रयोग सकेसम्म नगर्नु राम्रो हुन्छ ।