गणतन्त्र प्राप्तिको उपलब्धिसँगै सतहमा राजनीतिक मोलमोलाई पछि आएको मुद्दा थियो-लिम्बुवान् । तत्कालिन किरात प्रदेश समितिका प्रमुख गोपाल किरातीले लिम्बुवान प्रदेश समितिको निर्णायक तहमा कुमार लिङ्देनलाई प्रस्ताब गरेसँगै लिङ्देनको तर्फबाट पार्टीको केन्द्रिय समितिमा पनि सुरक्षित स्थान खोजेका थिए ।

लारुम्बामा आत्मानन्द लिङ्देनको सञ्चार संयोजकको पृष्ठभूमिबाट उठेका कुमार लिङ्देको यो प्रस्ताबलाई माओवादीहरुले ठाडै अस्वीकार गरिदिएपछि ‘कम्राङ’(आत्मा लिङ्देनको धार्मिक सेना जसले माओवादी जनयुद्धको समयमा माओवादीसँग भिडन्तको तयारी गरेका थिए ।) सञ्चालन गरेको अनुभवको आधारमा कुमार लिङ्देनले संघीय लिम्बुवान पार्टीमार्फत ‘लिम्बुवान’ को कुरा उठाएका थिए ।

उसैगरि त्यहीबेला तत्कालिन माओवादीका नेता गोपाल किरातीबाट खप्की खाएर बहिष्करणमा परेका भवानी बराल पनि ‘लिम्बुवान’ मुद्दामा थपिए । एकातिर कुमार लिङ्देन र अर्काेतिर भवानी बरालजस्ता गैर लिम्बुले पनि लिम्बुवानको मुद्दा उठाएपछि प्रचारात्मक हिसाबले लिम्बुवानी मुद्दा सफल रह्यो ।

लिम्बुवान मुद्दाको उठान नै माओवादीमा केन्द्रीय सदस्य नपाएको झोंकबाट सुरु भएको हो । र, त्यसलाई मलजल गर्ने काम माओवादीबाट खप्की खाएका भवानी बरालले गरेका थिए । यी दुबै एकै ठाउँमा उभिनुको कारण रचनात्मक काम गर्ने भन्दा पनि ‘देखाइदिने’ मनोविज्ञानबाट प्रभावित थिए । ‘देखाइदिने’ केही हदसम्म दुबै सफल पनि भए ।

संघर्ष पेचिलो हुँदै गएको यो समयमा कुमार लिङ्देन ‘किरात प्रदेश’लाई कहीँ न कहीँ जोडेर राजनीतिकरुपले रक्षात्मक पङ्क्तिमा उभिन आइपुगेको छ । कुमार लिङ्देनलाई लिम्बुवानको मुद्दा एक प्रकारले भालुको कन्पट नै भएको छ । लिम्बुवान मुद्दा छोड्न पनि मिलेको छैन र समाउन पनि सकिरहेको छैन । ‘देखाइदिने’ मनोविज्ञान लिएर कुमार लिङ्देनसँगै लिम्बुवानको मुद्दा लिएर देखा परेका भवानी बराल पनि यो लिम्बुवानको मुद्दा छोडेर चुपचाप बसिरहेको छ ।

तर, भवानी बराललाई कुमार लिङ्देनलाई जस्तो राजनीतिक कोणबाट अप्ठ्यारो छैन । त्यसैले भवानी बरालले त्यसबेला सजिलै लिम्बुवानको मुद्दा उठाए र यो बेला सजिलैगरि अहिले चुपचाप बसिरहेका छन् । उनी किन चुपचाप बसिरहेका छन्, त्यो सबैले थाहा पाएकै कुरा हो । मुद्दाको उठान नै गलत मनोविज्ञान र सिमित अध्ययनबाट सुरु भएकोले लिम्बुवानको मुद्दा रक्षात्मक बन्नु परेको छ ।

माथि नै पनि चर्चा गरियो, लिम्बुवानका नेतृत्वकर्तामा एउटा सनक थियो र कम्राङलाई चलायमान बनाएको अनुभव पनि । त्यो अनुभवलाई सम्पूर्णता ठान्ने काम भयो, अनुभवलाई समाजसँग घुलन गर्ने काममा नेतृत्व तहले कमजोरी गरे । लिम्बुवानी नेतृत्वले एउटा सिमित दायराको समूहलाई चलाएको अनुभव समाजको आयमिक आयतनसँग जोड्न सकेनन् ।

यसैगरि समाजभित्रको विविधतालाई पनि त्यही लारुम्बामा सिमित भएको कम्राङको आँखालेमात्र हेरियो । समाजभित्रको आयामिक वस्तुस्थिति, समाजिक मान्यता वा समाजिक सुन्दरतालाई सिमित क्षेत्रमा प्रयोग भएको आँखाले हेरेको कारणले नै लिम्बुवानी राजनीतिमा चन्दा, तोडफोड र दादागिरीजस्ता प्रवृत्ति मौलाए । कम्राङ आफै पनि लारुम्बामा एकपटक ज्यादै नै नकरात्मक छविका कारण चर्चामा आएका थिए, ठ्याक्क त्यसैको राजनीतिकरुपमा लिम्बुवानी कार्यकर्तामा आए ।

जसले समाजको सुन्दरतालाई तर्कबाट होइन कि लाठी-मुङ्ग्रीको आडमा आफ्नो पक्षमा पार्न खोजे । लिम्बुवानी कार्यकर्ताको यो चरित्र आवरणमा राजनीतिक देखिए पनि समाजसँगको दुरी बढाउँदै लगेको कसैले देख्ने स्थितिमै रहेन् । मारमुङ्ग्री शैलीको राजनीतिलाई कसैले बौद्धिक प्रतिकार गरेमा राजनीतिक शत्रु वा यस्तै आरोप लगाएर व्यक्तिगत आक्रमण गर्दै आफ्नाे राजनीतिक मुद्दा स्थापित गर्ने प्रवृति अपनाए जुन रणनीति शाहकालको राज्य विस्तार गर्ने चरित्रसँग मिल्न पुग्छ ।

‘लिम्बुवान’ प्रदेशको माग सही वा गलत इतिहासले मूल्याङ्कन गर्ने विषय हो । तर, गलत मनोविज्ञानबाट मुद्दा उठाइएकोले त्यसको परिणाम गलत नै आएको छ । यहाँसम्म कि मित्र शक्तिहरुको हार्दिकता पनि नपाउने स्थितिमा रक्षात्मक बन्नु पर्ने भएको छ । मुख्यतयः ‘किरात’ शब्दसँग पहिलेदेखि नै असहमति राख्दै आएको नेतृत्वले कार्यकर्ता तहमा पनि त्यही पढाएका कारण किरात प्रदेशका पक्षधरलाई व्यक्तिगतरुपमा असभ्य गाली गर्नेदेखि लिएर धम्किसम्म दिन भ्याए ।

जबकि, किरात प्रदेशका पक्षधर लिम्बुवान प्रदेशको विरोधी शक्ति थिएन । लिम्बुवानी नेताहरुले लिम्बुवान मागेजस्तै किरात प्रदेश पक्षधरले पनि किरात प्रदेशका मुद्दा उठाएका हुन् । यो दृष्टिकोणबाट हेर्दा किरात पक्षधर र लिम्बुवान पक्षधरको साझा लडाइँ लड्नु पथ्र्याे । माओत्से तुङले-‘सत्रुको सत्रु आफ्नो मित्र हुन्छ ।’ भन्ने सैन्य विज्ञानको सैद्धान्तिक पक्षलाई वेवास्ता गर्दै किरात पक्षधरसँग तर्कभन्दा बढी भद्दा गालिको भाकामा वैचारिक वा व्यक्तिगतरुपले बहसमा उत्रिए ।

यसरी राजनीतिक रुपले मित्र र सत्रु पनि खुट्याउँन नसक्नुले पनि लिम्बुवानी मुद्दा असल हुँदाहुँदै पनि सैद्धान्तिकरुपमा धरासयी र मित्र शक्तिबाट हार्दिकता पाउनबाट समेत टाढिए । लिम्बुवान प्रदेश प्राप्तिको लडाइँमा कुन मित्र शक्तिसँग सहयोग माग्ने ? अहिले यो प्रश्न लिम्बुवानी नेतृत्वमा उत्तरविहिन बनेको छ । जो कोही नेताले ‘एक्लै लडेर लिम्बुवान ल्याउने’ सपना पाल्नु कार्यकर्तालाई उत्तेजित बनाएर नेता भइरहने नीतिभन्दा केही पनि होइन ।

आफ्नै गलत गतिविधि र नकरात्मक चरित्रकाकारण अहिले लिम्बुवानी नेताहरुले लिम्बुवान प्रदेशकोलागि सबैभन्दा नजिकको शक्तिबाट हार्दिकता पाउने स्थितिमा त छैन नै । स्वयम् लिम्बुवानी शक्तिहरुबीच पनि आपुङ्गी राजा बन्ने मनोविज्ञानमा देखिएका छन् । आफ्नै जातीय संस्था किरात याक्थुङ चुम्लुङसँग युमा साम्योको विवाद झिकेर आफैबीच दुरी बढाइरहेको छ भने लिम्बू नेतृत्वको लारुम्बास्थित आत्मा लिङ्देनविरुद्ध पनि खनिएका छन् ।

शक्ति एकीकृत गरेर एउटै ठाउँमा उभिनु पर्ने यो बेला ‘तेरोमेरो’ बहसमा उत्रिएको लिम्बू नेतृत्वहरुले आफैलाई मूल्याङ्कन गर्न जरुरी छ । आफैबीच विवादमा उत्रिएका लिम्बू नेतृत्व चाहे युमा साम्योको विषयमा चुम्लुङसँगको होस् वा ‘किरात’ शब्द जोडेकोले लारुम्बास्थित आत्मानन्द लिङ्देनसँगको दुरी होस् वा लिम्बुवान प्रदेश ल्याउने लिम्बुवानी सङ्गठन वा नेताहरुबीचको आपसमा टाढिएको दुरी होस्, यो अवस्थालाई मूल्याङ्कन गर्नै पर्छ ।

खोसेर वा सङ्घर्षबाट प्राप्त हुने चिज पाउनकोलागि शक्ति चाहिन्छ, त्यो शक्ति प्राप्त गर्न वा एकीकृत गर्न आफ्नो वास्तविकता अध्ययन गर्न आवश्यक छ । साँच्चै नै लिम्बुवानी नेताहरुले आफ्नो अनुहार ऐनामा हेर्ने हो भने मुद्दाको विषय अरुसँग होइन आफैमा अल्झिएको देखिन्छ ।