म चाहन्न, माया गर्ने मुटु
कोमल होस् फूलजस्तो ।
तिमी आगो माथि हिडिरहेका छौ
जल्न सक्छ दूर यात्रामा निस्किएको
तिम्रो पैताला
जल्न सक्छ सुग्रिवले जस्तो पहाड उचाल्ने
तिम्रो पाखुरा
जल्न सक्छ पछिल्ला पुस्ताहरूसम्म आवाज पुग्ने तिम्रो मुखारबिन्द
जल्न सक्छ अर्काे शताब्दीसम्म हेर्नसक्ने
तिम्रो आँखा
जल्न सक्छ जीवनका लागि सिध्दान्त बोक्ने तिम्रो मस्तिष्क
जल्न सक्छ शत्रुहरूले परेड खेल्ने
तिम्रो छाति

इस्पातले बनून् तिम्रो आँखा,पाखुरा,मस्तिष्क
अर्थात् सर्वाङ्ग
म चाहन्छु इस्पातकै होस
तिम्रो मुटु
ह्वारह्वार आगोमा बलोस् र
आगो पिएर
आफ्नै रङभन्दा रातो बनोस्
तिम्रो मुटु
– बेलबारी, मोरङ