राजविराज / जनतान्त्रीक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) वाट विद्रोह गरी ११ जना केन्द्रिय सदस्यले वुधवार सप्तरीमा हतियार वुझाएका छन् । उपेन्द्र यादवको नेतृत्वमा नथुरी यादव (प्रदिप), रामउद्गार साह (रोशन), योगेन्द्र यादव (कमल), भवानीप्रसाद मगरिया यादव (भगतसिंह), वद्री यादवलगायतले हतियार वुझाएका हुन् ।
मोर्चाका नेताहरुसँग सरकारी वार्ता टोलीले ६ वुँदे सहमति गरेको छ । मुद्दा फिर्ता, जेलमा रहेकालाई रिहाई, मधेशी युवाहरुलाई सेना÷प्रहरीमा भर्ती, मोर्चाका कार्यकर्तालाई जिविकाका लागि रोजगारीको अवसरलगायतका ११ वुदे मागमा छलफल गरी सहमति तयार भएको राजनितिक वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले जानकारी दिए ।

उनीहरुले सानो नलकटुवा पेस्तोल १० थान, लामो नलकटुवा पेस्तोल १ थान, कटुवा १ थान, डिटोनेटर १ थान गरी जम्मा १३ थान हतियार वुझाएका छन् । मोर्चाका १५ जना केन्द्रिय सदस्यको वैठक वसेर सरकारसँग वार्ता गर्ने सहमति भए पनि संयोजक गोईतले वार्ता नगर्ने अडान लिए पछि आफुहरुले गत जेठ २ गते विद्रोह गरेर छुट्टै मोर्चा वनाएको र सोही समुहमार्फत हतियार वुझाईएको उनको भनाई छ ।
सरकारी वार्ता टोलीका संयोजक पाण्डेले अविनाशसहितका अधिकांश नेताले हतियार वुझाई सके पछि गोईतसँग वार्ता गर्नु पर्ने अवस्थासमेत नरहेको वताए । सप्तरीमा तीन वटा सशस्त्र समुहसँग वार्ता भईरहेको जम्मा ५ वटा समुहले तत्कालै हतियार वुझाउने तयारी भईरहेको उनको भनाई छ ।
११ केन्द्रीय सदस्यहरुले विद्रोह गरे पछि गोइत एक्लिएका छन् । उनीसँग अव ४ जना मात्र कार्यकताहरु रहेको बताइएको छ ।