भद्रपुर / भारतीय ७ वर्षीय वालकलाई अपहरण गरी बन्धक वनाएर भारतीय पन्ध्रलाख रुपैयाँ फिरौती मागेको आरोपमा एक दम्पतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका– ६ खजुरगाछीका ४७ वर्षीय बद्री यादव, सोही गाउँपालिका –४ कदमगाछीका ३१ वर्षीय बिटु भन्ने श्रीप्रसाद गोडी मुखिया र उनकी श्रीमती २७ वर्षीया अञ्जुदेवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यादवलाई गौरीगञ्ज चोक, मुखियालाई घर नजिकै कदमगाछी र महिलालाई दमक– ५ गोर्खाली टोलस्थित देउराली होटलको कोठा नम्बर १०७ मा बालकलाई बन्धक वनाइरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनीहरुलाई आरोपितलाई मङ्गलबार पक्राउ गरी वुधबार विहान सार्वजानिक गरिएको हो ।
यसरी पक्राउ परे अभियुक्तहरु
घटना विवरण अनुसार भारत विहार राज्यस्थित सुपौल जिल्ला किसनपुर थाना, चोहट्टा पञ्चायत ठाढीधता– २ पोष्ट मौजाहा(८५२१३१) बस्ने मोहमद् सद्दामको ससुराली घर राघोपुर थाना देवानगञ्ज–२ बाट अन्दाजी १८—२० वर्षका अज्ञात व्यक्तिले सद्दामका सात वर्षीय छोरा महफुज आलमलाई भारतबाट अपहरण गरी नेपाल ल्याएर बन्धक बनाएका थिए । गत मङ्सिर २० गते विहीबार घर नजिकै खेल्दै गरेको अवस्थामा फकाइ फुलाइ विस्कुट दिई बालक आलमलाई मोटरसाइकलमा चढाएर भारतीयको सहयोगमा झापा गौरीगञ्ज भवानीपुरबाट नेपाल ल्याएका थिए । घटना पश्चात बालकका वावुलाई भारतीय पन्ध्रलाख रुपैया फिरौती नदिए र प्रहरीलाई खबर गरेमा बालकको ज्यान लिने धम्की दिएका थिए । सद्दामले उक्त कुरा भारतीय प्रहरीलाई जानकारी गराए । भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएको जिल्लाका एसपी भिमप्रसाद ढकालले बताए । अपहरण गरी नेपालको गौरीगञ्ज वा दमक क्षेत्रमा लुकाई राखेको भन्ने सूचना सोमबार अपरान्ह् ४ बजे आएसँगै दमकका डिएसपी श्यामल सुब्वा र गौरीगञ्जका इन्सपेक्टर टेकेन्द्र शर्मा पौडेलको नेतृत्वमा शङ्कास्पद क्षेत्र निगरानी तथा सीमा नाकामा चेकजाँच गरिएको एसपी ढकालले बताए । खोजतलासको क्रममा मङ्गलबार विहान यादवलाई पक्राउ गरेपछि आरोपितको आधारमा अन्य र बालकलाईसमेत सकुसल उद्धार गर्न सफल भएको ढकालले जनाए ।
पक्राउ पश्चात बालकलाई मङ्गलबार परिवारको जिम्मा लगाइएको उनले बताए । आरोपितले घटना स्वीकार गरी सकेको प्रहरीले जनाएको छ । संलग्नलाई अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट पाँचदिनको म्याद थप गराइ थप अनुसन्धान अघि बढाइएको एसपी ढकालले जनाए ।