पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरका महिला अगुवाहरुले लैंगिक हिंसा विरुद्ध जुट्ने ३ बुँदे प्रतिवद्धता जाहेर गरेका छन् ।

पथरीशनिश्चरे नगरपालिका, ओरेक नेपाल र पथरीशनिश्चरे महिला फेडेरेशनको सहकार्यमा सञ्चालित २७ औं अन्तरराष्ट्यि लैंगिक हिंसा विरुद्ध दिवशको १६ दिने अभियानको समापनका अवसरमा सोमबार ३ वुँदे प्रतिवद्धता जारी भएको हो ।

नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले नगरमा हिंसा विरुद्ध सधैं लागि पर्ने, हिंसा पिडीतलाई न्यायालय पुर्याएर अधिकार दिलाउने र न्यायिक समितिको काम कारवाहीलाई थप प्रभावकारी वनाउँदै महिलालाई व्यवसायिक वनाउन प्रोत्साहित गर्ने प्रतिवद्धता घोषणा गरिन् ।

नगरका महिलाको प्रतिनिधित्व गर्दै साझा प्रतिवद्धता अघि सारेपछि उनले महिला उत्थानका लागि नगरपालिकाबाट ल्याइएका कार्यक्रमका विवरण पनि पेश गरिन् ।

‘गलत परम्परागत अभ्यासले महिलाका जीवनमा पारेको असर’ विषयक अन्तरक्रियामा प्रमुख अतिथि प्रदेश सांसद कृष्णकुमारी राईले महिलाहरुले मुक्तिको आन्दोलन गरेर यसबेला पाएको अधिकारलाई व्यवहारमा लागू गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइन् ।

पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, अखिल नेपाल महिला संघकी प्रदेश सदस्य कृष्णकुमारी विश्वकर्मा, ओरेक नेपालकी उर्मिला निरौला, महिला फेडेरेशनकी गोमा दहाल लगायतले लैगिक रुपमा महिला हिंसामा परेको बताए ।

कार्यक्रममा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, नगर प्रवक्ता यामप्रसाद गुरागाई, महिला तथा वालवालिका शाखकी गीता कट्टेल, कार्यपालिका सदस्य अरुणा राईले पनि धारणा राखेका छन् ।

वडा नम्बर ५ र ६ का लागि हसन्दहमा, ३ र ७ का लागि किराती चोकमा ४, ८ र ९ का लागि शनिश्चरेमा साथै १, २ र १० का लागि नगरपालिका कार्यालयमा यसखाले अन्तरक्रिया कार्यक्रम यो वर्ष पहिलो पटक राखिएको हो ।

वडा नम्वर २ मा देविगञ्ज दक्षिणमा साँझ मैनवत्ती बालेर नगरमा यसखाले अभियान थालिएको थियो ।