तेह्रथुम/ गत वर्ष अदुवा नबिकेर बारीमा नै कुहिए पनि यस वर्ष अदुवाले राम्रो मूल्य पाउँदा जिल्लाका किसान हर्षित भएका छन् ।

अदुवाको पहिलो सिजन मानिने कार्तिक महिनामा प्रतिकेजी ४२ रुपैयाँमा किनबेच हुन थालेपछि किसान हर्षित भएका हुन् । आफुले उत्पादन गरेको अदुवा सहज रूपमा बिक्री हुन थालेपछि खुसी लागेको अदुवा किसानहरूको भनाइ छ ।

गत वर्षको तुलनामा यो वर्ष अन्तर्राष्ट्रिय बजारबाट अदुवाको माग बढी आएको र उत्पादन कम भएकाले मूल्य बढेको व्यापारीको भनाइ छ ।

किसानहरूको अदुवा प्रतिकेजी ४० देखि ४२ रुपैयाँसम्ममा किनेको व्यापारी दुर्गा भण्डारीले बताए । अदुवाले राम्रो मूल्य पाएपछि जिल्लाका किसानले उत्पादित अदुवा बिक्री गर्ने तयारी थालेका छन् । किसानले गत वर्षको तुलनामा राम्रो मूल्य पाएपछि धमाधम अदुवा बिक्री गर्ने तयारी थालेका हुन् ।

अदुवाको मूल्य सोचेजस्तो राम्रो भएको किसान तथा स्थानीय व्यापारी बताउँछन् । ‘गत वर्ष अदुवा कम निकासी भएका कारण नबिकेर बारीमा नै कुहिएको थियो, तर यस वर्ष अदुवाले राम्रो मूल्य पाएको छ ।’ किसान चित्रराज नेपालले भने ।

जिल्लामा किसानले व्यावसायिक रूपमा अदुवा खेती गर्न थालेका छन् ।

शुरुमा केही वर्षसम्म अदुवा उत्पादन गरेर प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्ममा बिक्री गरेका थिए । तर, गत वर्ष भने अदुवा बिकेको थिएन । गाउँमा उत्पादन भएको अदुवा खरिद गरेर भारतकै व्यापारीलाई बेच्ने गरेको र अहिले भारतको नक्सालमा पनि अदुवाको मूल्य राम्रो भएको व्यापारी भण्डारीले बताए ।

म्याङलुङका किसान माधव गुरागाईं यस वर्ष अदुवाको सिजन शुरु हुने बेलामा राम्रो मूल्य पाएको बताउँछन् । उनी अदुवा बिक्री गर्ने तयारीमा लागेका छन् ।

४० देखि ४२ रुपैयाँ प्रतिकेजीका दरले बिक्री गर्दा किसानलाई राम्रो फाइदा हुने गुरागाईंको भनाइ छ । यस्तै अर्का किसान राम लिम्बूले पनि आफ्नो खेतीबाट उत्पादन हुने करिब २० क्विन्टल अदुवा बिक्री गर्ने तयारी गरेको बताए ।

अहिले व्यापारी अदुवा खरिद गर्न गाउँगाउँमा आउन थालेका छन् । स्थानीय व्यापारीले किसानले उत्पादन गरेको अदुवा सङ्कलन गरेर भारतका व्यापारीलाई बिक्री गर्ने गरेका छन् । राम्रो जमिन नभई पाखाबारीमा समेत अदुवा खेती गर्न सकिने र खाद्यान्न बालीको तुलनामा तेब्बरभन्दा बढी फाइदा हुने भएपछि अदुवा खेतीतर्फ किसान आकर्षित छन् ।

नेपालमा नै अदुवा प्रशोधन केन्द्र सरकारले बनाइदिने हो भने किसानहरूले बढी भन्दा बढी मूल्य पाउने किसान सविन नेपाल बताउँछन् ।

म्याङलुङ, साब्ला, ओयाक्जुङ, पिप्ले, तम्फुला, मोराहाङ, जलजले, जिरिखिम्ती, खाम्लालुङ, सङ्क्रान्तिलगायतका क्षेत्रमा अदुवाको खेती राम्रो हुने गरेको छ । यो वर्ष करिब ४ हजार मेट्रिकटन अदुवा उत्पादन हुने कृषि विकास कार्यालयले जनाएको छ ।