बहुप्रतिक्षित जोगवनी–किमाथाङ्का सडक आयोजना । प्रदेश १ को विकासको सेतु । यही सेतु अहिले निर्माणको चरणमा छ । केही स्थानमा बनिसकेका छन् । केही स्थानमा बन्ने चरणमा छन् ।

जोगवनीदेखि सुनसरीको तरहरासम्म ६ लेन बन्दै छ । अहिले काम धमाधम भइरहेको छ । सडक विकासको सेतु पनि हो । अझ प्रदेश १ को यो आयोजना देशकै गौरवको आयोजना हो ।

 भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग हो यो । यसमा विभिन्न कम्पनीले काम गरिरहेका छन् । यसै क्रममा विराटनगरदेखि इटहरीसम्मको सडक–खण्डमा ड्रेन (नाला) को काम भइरहेको छ ।

गौरवको आयोजनाको ड्रेन भने कमसल सामग्री प्रयोग भइरहेको छ । सम्झौतामा १ नम्बर इँटा प्रयोग गर्ने भन्ने छ । तर, प्रयोग भइरहेको छ ३ नम्बर इँटा । निर्माण कम्पनीको यस्तो लापरबाहीप्रति डिभिजन सडक नतमस्तक छ । मापदण्ड विपरीत प्रयोग भए कारबाही गर्छौं भनेर बोक्रे भनाइ छाडेको छैन ।

देशकै गौरवको आयोजनामा जसरी लापरबाही भइरहेको छ, त्यसप्रति जनता सजग हुनुपर्छ । अहिले जनताले निर्माण भइरहेको नालाहरुको निगरानी बढाएको छ ।

जनताको करबाट सङ्कलित रकमबाटै यो आयोजना सम्पन्न हुँदैछ । त्यसैले जनताको निगरानी भइरह्यो भने मात्रै आयोजना गुणस्तरीय बन्नेछ ।

१० अर्ब ९८ करोडको लगानीमा विराटनगरदेखि इटहरीसम्मको ड्रेनसहित कालोपत्रको काम भइरहेको छ । यतिधेरै लगानीमा निर्माण भइरहेको आयोजनाको गुणस्तरीयतामाथि प्रश्न उठाउनु जनताको पक्षबाट जायज छ ।

यसले निर्माण कम्पनी तथा सरकार मातहतको निकायलाई सजग बनाउँछ । नत्र ‘मोनोपोली’ बढ्नेछ र गुणस्तरहीन काम हुनेछ । यसमा जनताको चासो एकदमै हुनुपर्छ ।

विकास निर्माणमा सर्वत्र कमसल सामग्रीको प्रयोग गर्ने प्रचलन नौलो होइन । यो नेपालको पुरानै रोग हो । यो रोगको अन्त्य गर्न दुई तिहाईको कम्युनिष्ट सरकारले पनि सकिरहेको छैन । यो रोगलाई जडदेखि नै उखेल्न आवश्यक छ ।

प्रदेशस्तरमै हेर्ने हो भने ६ लेन सडक बनेको यो नै पहिलो प्रदेश हो । अझ व्यापारिक नाकाको रुपमा बन्न लागेको यो सडकले आर्थिक गतिविधि मात्रै बढाउँदैन ।

पर्यटन, शिक्षा, स्वास्थ्यलगायतमा नयाँ फड्को मार्नेछ । यस्तो गौरवको आयोजनाका लागि सबै पक्षबाट निगरानी आवश्यक छ । अर्बौं रकममा बन्न लागेको सडकले दुई देशलाई मात्रै जोड्दैन ।

यहाँको सामाजिक, सांस्कृतिक, आर्थिक पाटोलाई पनि जोड्छ ।

यस्ता विविध आयामलाई जोड्ने सडक कमसल बने त्यसको बेफाइदा कसलाई हुन्छ ? हामीलाई नै हो । ठेकेदार कम्पनी, विभाग र नागरिकबीचको खबरदारीले मात्रै सडक गुणस्तरीय बन्छ ।

त्यही गुणस्तरीयता नै विकास र समृद्धिको द्योतक हो । ठेकेदार कम्पनीले कुन–कुन कुरालाई अक्षरशः पालना गर्छु भनेको छ, त्यसमा विभागले चासोको साथ हेर्नुपर्छ ।

जनताले देखाइरहनु नपरोस् । ‘राजाको काम कहिले जाला घाम’ भन्ने टुक्काजस्तो कर्मचारी प्रवृत्तिको अन्त्य होस् । गुणस्तरीयतामा ध्यान दिइयोस् ।