पानवारी । विगत केही महिनादेखि मृगौला रोगबाट पीडित रंगकर्मी तथा पत्रकार प्रविण राईको उपचारको लागी सहयोगार्थ स्वरुप फाइभ इडियट्स नामक चलचित्रको च्यारिटी शो हुने भएको छ । प्रकाश लिम्बूको निर्देशनमा बनेको चलचित्र फाइभ इडियट्स आगमी असोज २२ गते सोमबारका दिन धरानको गणेश टाकिजमा विहान ८ बजे च्यारिटी शो गरिने निर्देशक लिम्बूले बताए । उनका अनुसार च्यारिटी शो बाट उठेको रकम राईको उपचारको लागी सहयोग गरिनेछ । छोटो चलचित्रको रुपमा युट्युबबाट सार्वजनिक गर्ने गरी बनाइने भनेको चलचित्र फाइभ इडियट्स छायाङ्कन सम्पन्न भएपछि छोटो नभई २ घण्टाको बनेको समेत निर्देशक लिम्बूले बताए । धरानको आसपासमा नै छायाङ्कन गरिएको र कमेडी वेसमा बनेको चलचित्र विशेष गरी अहिलेका युवा पुस्ता र बालबालिकाले मन पराउने निर्माण युनिटले जानकारी दिएको छ । च्यारिटी शोबो बिषयमा जानकारी दिन शुक्रबार विहान धरानमा आयोजना गरीएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चलचित्रमा गाउँबाट शहर पसेका पाँच जना युवाको विषयलाई लिएर बनाइएको छ । पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर समेत प्रदर्शन गरिएको थियो भने युट्युबबाट चाडै ट्रेलर सार्वजनिक गर्ने निर्माण युनिटले जानकारी दिएको छ ।