पथरीशनिश्चरे । बाल दिवशका अवसरमा शुक्रबार मोरङको पथरीशनिश्चरे २ स्थित रेडस्टार माविले नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

आफ्नै विद्यालयका विद्यार्थीबीच भएको नृत्य प्रतियोगितामा सब्या राई पहिलो, युगिना लिम्बू दोस्रो र मोनिका कोइराला तेस्रो भइन् । वडाध्यक्ष यामप्रसाद गुरागाईं, वडा सदस्य अग्नी गुरुङ सहितले नृत्य सहितका त्यस अघि भएका सृजनात्मक प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका छन् ।

विद्यार्थीहरुले बाल अधिकारलाई प्रष्टाउँदै सवैको पढ्ने अधिकारी सुनिश्चित गर्ने सन्देश बोकेको ‘बाल अधिकार’ नामक एकाङ्की नाटक समेत प्रस्तुत गरेका छन् । कार्यक्रममा गायन, बक्तृत्वकला समेत प्रस्तुत भएको प्रिन्सिपल टीएन तिम्सिनाले जनाए ।

बाल दिवसको अवसरमा वडा नम्बर ९ स्थित सिंहवाहिनी माविले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीबीच ‘युवा वर्गमा सामाजिक सन्जालको प्रभाव’ शीर्षकमा निबन्ध लेखन, कक्षा १ देखि ५ सम्मका लागि बाहिरी भित्री, कक्षा ६ देखि ८ सम्मका लागि हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीबीच वक्तृत्वकला पनि गरिएको थियो ।