दुईमध्ये एकजनाको इच्छाविपरीत हुने शारीरिक सम्बन्ध बलात्कार हो । नयाँ मुलुकी ऐनअनुसार १८ वर्षभन्दा कम उमेरका महिलासँग सहमतिमै राखेको यौनसम्बन्ध पनि बलात्कार हो । सोही ऐनमा बलात्कारीलाई कस्तो सजाय हुने भन्ने पनि उल्लेख गरिएको छ । नयाँ मुलुकी ऐन कार्यान्वयन हुनुपूर्व नै बलात्कारका घटना बढ्न थालेका छन् । विशेषगरी बालबालिकाहरुमाथिको बलात्कारको शृङ्खला रोकिएको छैन । चार वर्षीया बालिकादेखि ७० वर्षका वृद्धासमेत बलात्कारको शिकार हुन थालेका छन् । यस्ता घटनाले हाम्रो पारिवारिक तथा सामाजिक सुरक्षाको अवस्थाको बारेमा निकै ठूलो प्रश्न उठेको छ । यसअघि पनि बलात्कारजन्य घटना नहुने गरेका भने होइनन् । तर, सामाजिक रुपमा बदनाम हुने डरले धेरैजसो घटना गुपचुपमै रहन्थे ।

परिवर्तित कानून तथा सरोकारवालाको जिम्मेवारीपूर्ण कार्यशैलीका कारण अहिले अधिकांश घटना सार्वजनिक हुन थालेका छन् । जसले गर्दा पीडकले सजाय भोग्ने अवस्था सिर्जना हुन थालेको छ । यस्ता घटनामा संलग्न अधिकांश पीडक पक्राउ परेको तथ्याङ्क प्रहरीसँग छ । अहिले नेपाली समाजमा बलात्कारीलाई फाँसी दिनुपर्ने माग उठ्न थालेको छ । यस्ता घटनामा नागरिकस्तरको यो माग नाजायज त होइन । बलात्कार भनेको क्षणिक उत्तेजनाको अभिव्यक्ति हो । मनोचिकित्सकहरुले यसलाई मानसिक विचलन र आपराधिक मनोवृत्तिको रुपमा व्याख्या गर्ने गरेका छन् । पछिल्लो समय घटेका बलात्कारको घटनामा विपन्न वर्गका बालबालिका र महिलाहरु बलात्कारको शिकार भएको पाइन्छ ।

शिक्षा र चेतना तथा कानूनसम्बन्धी सामान्य ज्ञानको अभावले यस्ता घटनाका पीडितहरु प्रहरीसम्म पुग्न सकेका छैनन् । बलात्कारबाट बालबालिकालाई जोगाउनको लागि सबैभन्दा महत्वपूर्ण भूमिका अभिभावकको मात्र होइन, सिङ्गो समाजको हुन्छ । धेरै घटनामा अभिभावकले विश्वास गरेको वा आफन्त संलग्न भएको पनि देखिएको छ । आफन्तबाट नै धेरै असुरक्षाको महसुस गर्नु भावी पुस्ताको लागि चिन्ताको विषय हो । पछिल्लो समयमा श्रीमतीको इच्छाविपरीत यौनसम्बन्ध राखेको उजुरीका आधारमा पनि वैवाहिक बलात्कारसम्बन्धी मुद्दाहरु चल्न थालेका छन् । यसरी समाजमा यौनजन्य घटनाहरु निरन्तर भइरहनु दुःखद् हो । हाम्रो सामाजिक मूल्य, मान्यता र संस्कारलाई यस्ता घटनाले कहाँ पुर्याउँछ ? यसतर्फ सोच्न जरुरी छ । बलात्कार पूर्ण नियन्त्रण गर्न र यौनजन्य हिंसा नियन्त्रण गर्न अपराधीलाई कानूनी दायरामा ल्याउने सरकारले शून्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ ।