अहिले स्नातकमा भर्ना हुने धेरै विद्यार्थीको रोजाइ बीबीए अर्थात् व्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन हुने गरेको छ । यो विषय पढेका विद्यार्थीहरूले बैङ्क, इन्स्योरेन्स कम्पनी, होटल, कर्पोरेट हाउस जस्ता संस्थामा रोजगारीको अवसर पाउँछन् । अहिले नेपालमा त्रिभुवन, पूर्वाञ्चल, पोखरा, विश्वविद्यालयमा बीबीए पढाइ हुन्छ । यो बाहेक विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी कलेजमा पनि बीबीए पढाइ हुन्छ ।

बीबीए पढ्न महँगो र भर्ना पाउन पनि गाह्रो भएपछि विद्यार्थीहरू बीबीएस अध्ययन गर्छन् । त्रिविका आङ्गिक क्याम्पसमा न्यून शुल्कमा बीबीएस पढ्न पाइन्छ । निजी कलेजमा समेत धेरै खर्चिनुपर्दैन । यसमा सैद्धान्तिक पढाइ हुन्छ ।  स्नातकमा बीचएचएम अर्थात् व्याचलर अफ होटल म्यानेजमेन्ट पनि धेरै विद्यार्थीको रोजाइमा पर्दै आएको छ । होटल म्यानेजमेन्ट पढेकाहरू स्वरोजगार बन्न सक्छन् । नेपाली विद्यार्थीहरू बीएचएम सकेपछि नेपालका फाइभ स्टारमा मात्र नभई विदेशमा समेत इन्टर्न्सिपका लागि पुग्न थालेका छन् । नेपालमा पढाइ सकेर विदेशमा इन्टर्न्सिप जाने मौका पनि यसै विषयले दिन थालेको छ ।  व्यवस्थापन र कम्प्युटर शिक्षा मिलाएर पढाइ हुने विषय बीआईएम हो । यो विषयमा ४० प्रतिशत व्यवस्थापन र ६० प्रतिशत कम्प्युटर सफ्टवेयरको पढाइ हुन्छ । यो विषय अध्ययन गर्न जुनसुकै सङ्कायबाट स्नातक गरेकाहरूले अवसर पाउँछन् । व्यवस्थापनसँगै कम्प्युटर विज्ञान पढ्न चाहनेहरूका लागि यो विषय निकै उपयोगी छ । प्लस टुमा साइन्स तथा व्यवस्थापन विषय लिएर कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण विद्यार्थीले यो विषय अध्ययन गर्न सक्छन् । यो विषय पढेका विद्यार्थीहरू बेरोजगार बस्नुपर्दैन । बीआईएमका जनशक्तिले सफ्टवेयर इन्जिनियर, सरुटवेर निर्माता, नेटवर्क व्यवस्थापक र डाटाबेस म्यानेजरका रूपमा काम गर्न सक्छन् ।

यस्तै, नेपालमा व्याचलर इन कम्प्युटर इन्फर्मेसन सिस्टम (बीसीआईएस), व्याचलर अफ इन्जिनियरिङ इन इन्फर्मेसन टेक्नोलजी (बीई–आईटी), व्याचलर अफ साइन्स इन इन्फर्मेसन टेक्नोलजी (बीएस्सी–आईटी), व्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए) लगायतका कोर्स सञ्चालनमा छन । यी विषय पढेका विद्यार्थीहरू प्रोग्राम डेभलपर, सेक्युरिटी एनालिस्ट, सिस्टम एनालिस्ट, वेभ एडमिनिस्टेटर, आईटी म्यानेजर लगायतका क्षेत्रमा करियर बनाउन सक्छन् ।