स्वेच्छता योगी ११ वर्षकी भइन् । धरान–९ स्थित बुद्ध आदर्श बोर्डिङ स्कुलको कक्षा–७ अध्ययनरत् उनी पढाइमा अब्बल छिन् नै अतिरिक्त क्रियाकलापमा उत्तिकै खप्पिस छिन् । बाबु दिलीप र आमा सरस्वती योगीकी छोरी उनी सानैदेखि नृत्य गर्न खप्पिस छिन् । ‘नृत्य गर्न खुव मन पर्छ, सानैदेखि ममीले नृत्यमा सघाउँदै आउनुभएको छ’, उनले भनिन् । ४ वर्षदेखि नै नृत्यमा सहभागी भएर प्रस्तुति दिँदै आएकी उनले स्कुलमा आयोजना हुने जुनसुकै कार्यक्रममा नृत्य देखाएर मख्ख पार्छिन् । उनले अन्य स्कुल बाहिर हुने कार्यक्रममा पनि भाग लिएर पुरस्कार बटुलिसकेकी छिन् । सिनियर कक्षाका विद्यार्थी जति नृत्यमा अब्बल छन् उनी पनि त्यतिकै अब्बल छिन् । हुन त आमा सरस्वती नृत्यङ्गना हुन् । अनाम नाट्य जमातलगायत विभिन्न संघ–संस्थामा सहभागी हुँदै आमा सरस्वतीले पूर्वाञ्चलस्तरीय नृत्यकलामा उपाधि समेत जितिसकेकी छिन् । हाल धरान नृत्य कलाकार प्रतिष्ठानको कोषाध्यक्ष रहेकी सरस्वती सुनसरी नृत्यकार सङ्गठनको अध्यक्ष पनि हुन् । ‘छोरीले पनि आमाकै सिको गरेको हुनसक्छ’, उनले भनिन्, ‘पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापमा पनि छोराछोरीले खरो उत्रिउन् भन्ने मेरो चाहना छ, छोरीले पनि सोहीअनुसार अघि बढेको जस्तो लाग्छ ।’ उनले भविष्यमा नृत्यमै अब्बल बन्ने र भविष्य बनाउने लक्ष्य रहेको बताइन् । हाल उनी सङ्गीत पनि सिक्दै छिन् । सङ्गीतकार भोला राईसँग सङ्गीत सिकिरहेकी उनी पढाइ, नृत्य र गायनलाई सँगै अघि बढाउने योजनामा रहेको बताउँछिन् ।