साउन २२ र लालमोहर

फिपराज बेघा

स्वास्ती श्री गिरी राज चक्र चुडामणी नरनायेणेत्यादि विविध विरुद्धा बली विर्जमान मानोन्त श्रीमान महाराजाधिरज श्री श्री श्री महाराजा पृथ्वी नारायण शाह बहादुर शम्शेरजङ् देवा नाम सदा समर विजयी नाम स्वस्ती श्री आगे राज भार समर्थ श्री सुन राय श्री कुम राय श्री जङ्ग राय, अरु सबै गैह्र लिम्बु रायके पूर्ण मोहोरको पत्र यथोचित- उपान्त…मिल… मिलन्तम यहाको लागि तहालाई कुशल चाहियो । मेरो धर्म मन भलो छ । तिमीहरु हिजो पनि पिछा बक्सेको हौं । तिम्रा मुलुक हाम्रा प्रतापले…तिमी तुतु तुम्याङयाक हाङ हाम्रै छौ । तिम्रा जहानका पिछा हामीले लियौ । ज जसको जे जे तिम्रा खाईन, पाईन र लबाङगढ, सिमाङगढ, अशुद्धलाई सब खत बात सभा शुद्ध गरी खानामा हिजोको तिम्रा मुलुक भित्रको सबै थामी बक्यौ । तिमीहरु हाम्रा भारदारसँग सामेल रही र मदत सधाई हिजो आफै आप आपुङ्गी बसी आए बमोजिम त्यो मुलुक सम्भार गरी जिमी भूमी रहिञ्ज्याल तिम्रा शाखा सन्तान तक भीग गर । अरु नौ लाख के पट्टी होईन, के अर्थले हो भन्य अरु अरु राजा मासिने हुदा तिमीहरु राजाले नमासिने हौं । यो तिमीहरुको नीति हामीले जानेको छ । तर कुराको विस्तार तिम्रा नाथीमा बस्याको ले तिनले गर्यो । सुखिमको र हाम्रो घा नभएको हो । हाम्रो भलो मानिस र चौधरीले बोल कुरा गरी गयाको छ । उनबाट कुराको विस्तार बुझौला मिली तिमीहरु आफना आपुङ्गी खाईन पाईन माथी लेखे बमोजिम जिमी भूमी जानी चलन गरी खानु । हामीले खोसे मासे मानी पुजी ल्याएको देवताले हाम्रा राजकाज भङ्ग गरोस् भन्या ताबा पत्रको तसल्ली मुलुकी लाल मोहर बाधी माथि लेखिने लिम्बु कुल भाईलाई दियौ । इतिसम्बत् १८३१ साल श्रावण २२ सुदी रोज २ वार मोकाम कान्तिपुर राजधानी शुभाय भुभम्…

यो तत्कालिन गोर्खा राज्यका प्रमुख एवम राष्टिूय विभुति पृथ्वी नारायण शाहले लिम्बुवान राज्य प्रमुखहरुसँग गरेको तामापत्र (लालमोहर) हो । सन्धी सम्झौता गरेको २४५ वर्ष भयो । पल्लो किरात लिम्बुवानसँग सन्धी गरेर मात्र वर्तमान नेपालको बनेको हो । त्यहि बेला लिम्बुवानले थुम थुममा संघीय राज्य सञ्चालन गरिरहेका थिए । स्वतन्त्र थियो । लिम्बुवान अरुण पुर्वदेखि सिक्किमको भित्री भाग र मधेसको विशाल भूभाग थियो । थाक्थुङ्बा हाङ(राज्य पूमुख) हरुसँग सन्धीको प्रस्ताप अघि सारे ।

लिम्बुवान स्वायत्तालाई गोर्खा मान्यता दिने, गोर्खालाई प्रान्तीय/केन्द्रीय सरकार मान्नुपर्ने शर्तमा दुवै पक्ष राजी भएर सन्धी गरेको इतिहास छ । त्यहि सन्धी लिम्बुवानवासीले मान्दै आएको छ । तर शाहाबंशीले १९० वर्ष (वि.सं.२०२१) सम्म माने । लालमोहर पछिल्लो पटक त्रिभुवनले २००८ मंसिर २९ गते र महेन्द्रले २०१७ चैत्र १७ गते सदर गरेर लिम्बुवान अनुमोदन गरे । सन्धी उल्लङ्घन गरेको ३७ वर्ष (वि.सं.२०५८ जेठ १९) पछि राजकीय वंश नाश पनि भयो । सन्धीमा ‘हामीले खोसे, मानी पुजी ल्याएको देवताले हाम्रा राजकाज भङ्ग गरोस्।’ वाक्यांश उल्लेख छ ।

वाक्यमा उल्लेख भए अनुरुप नै एकात्मक शाहबंशीय निरङ्कुश राजतन्त्रको अवशान भयो । लालमोहर अनुमोदन गर्ने प्रचलन गरिदै आए पनि स्व. राजा महेन्द्रले सन्धी विपरीत अनुमोदन गरेनन् । जिमी भूमिको अधिकार लिम्वुवानसँग खोसे । त्यहि भएर परम्परागत वंशनाश भएको विश्वास लिम्बुवानवासीमा रहि आएको छ । लिम्बुवानले गोर्खा राज्यलाई केन्द्रीय सरकार मानिए पनि १९० वर्षबीच अवधिमा पनि लिम्बुवानमाथि अन्याय अत्याचार गरेको पाइन्छ । किपट अधिकार (भूमि, वन, जंगल, झगडा मुद्दा, मामिला हेर्ने अधिकार) खोसियो ।

वि.सं.१८४३ जेठ २ मा रणबहादुर शाहले गाई नमार्नु भनी आदेश दिएर । हिन्दु धर्म लादे । प्राकृतिकपुजक किराती धर्मावलम्बी गोर्खा सरकारले वि.सं. १८७५ मा मुन्धुम संस्कार मान्ने र हिन्दु धर्म संस्कार मान्ने बनाएर लिम्बुहरुबीच खाडल बनाइदियो । पछि ऐन कानुन बनाएर धार्मिक(सामाजिक राजनैतिक अधिकार खोसेको पाइन्छ ।

धनुष काँड हानेर (लिः आङ्बुहाङ) जितेको राज्य भूमि हुनाले लिम्बुवान भनिएको एकाथरीको भनाइ छ । लिम्बुवान शब्द पछि लिम्बु शब्दको जन्म भएको मानिन्छ । लालमोहर पनि लिम्बु कुल भाइ भनेर उल्लेख छ । तर हालका लिम्बु (राष्टू) आदिवासी, खास याक्थुङ्बा हुन् । लिम्बुहरु आफूलाई याक्थुङ्बा भन्छन् । लालमोहर सन्धी गरे देखि उठिरहेको छ, लिम्बुवान राज्य कुरा । यो राज्य पहिचानमा आधारमा आधुनिक राज्यको माग भएको हो ।

वि.सं. १८३१ साउन २२ गतेलाई स्मरण गराउँदै लिम्बुवान राज्य प्राप्तीका लागि गत २०६६ साल साउन २२ गतेदेखि निरन्तर बन्द हुदै आएको छ । २०६४ चैत ६ गते लिम्बुवानी आन्दोलनले सात दल सम्मिलित नेपाल सरकारसँग ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य हुने सहमति भएको छ । हुन त पहिलो संविधान सभाबाट पहिचान र सामथ्र्यमा आधारित लिम्बुवानसहितको १४ प्रान्तीय राज्य हुने सम्भावना थियो । तर पहिचान विरोधी २०६९ जेठ १४ गते संविधान सभा विघटन गरिदिए ।

अहिले राज्यले सुरु गरेको असमान पहिचानको विरुद्ध समानताको लागि लडाइ जारी छ । राज्यले व्यक्तिको नाम, ठाउँको नाम, परिवर्तन गरेर पहिचानको हत्या गरिदिएको छ । त्यति मात्र होइन, सामाजिक(साँस्कृतिक(ऐतिहासिक विषयबस्तु नामेट गरियो । त्यहिँ भएर लिम्बुवानमा सभ्यताको राजनीति टड्कारो रुपमा उठाएको हो । नेपाल पृथ्वीनारायण शाषनकालदेखि यता आन्तरिक उपनिवेशिक थियो । त्यसैले बहुराष्टिूय देश बनेन ।

राष्ट्र (समुदाय) ले राज्य बनाउदछ । राज्यबाट राष्टू निर्माण गर्ने भन्ने गलत बुझाइले नै सामुदायिक/बर्गीय/धार्मिक/साँस्कृतिक/आर्थिक असमानता रही आयो । लिम्बु, लिम्बुवान राष्टू हो । यो युग पहिचानको युग हो । पहिचानको प्रक्रिया फरक भए पनि पहिचान वारे विद्धानहरुको मत एकता छ । समुदायगत, भाषिक, साँस्कृतिक, भौगोलिक, क्षेत्रगत निरन्तरता, ऐतिहासिक निरन्तरता नै पहिचानका प्रमुख प्रतिनिधि हुन् । पहिचान मानिसको मात्र हुन्छ र मानिसले मात्र दिन्छ । पहिचानविनाको संघीयता लुलो हुन्छ । य समुदायगत अस्तित्व पनि हो ।

छ दशक पछिको लामो सङ्घर्ष पश्चात संविधान बनाउने सुनौलो ढोका खुल्यो । तर लिम्बुवान राज्य प्राप्ती आन्दोलन संस्थागत भएको छैन । कथित उच्च अहङ्कारबादीहरुले लिम्बुवानसहित संरचना प्राप्त गर्ने अवसर मौकालाई लत्याएर नाम मात्रको बेनामे प्रदेशसहित संविधान जारी गरेका छन् । पुर्नउत्थानवादी र यथास्थितिवादी शक्तिको चक्करले इतिहास ओझलिदैछ । पुनःसंरचनाको सन्दर्भमा संकीर्ण विचार र प्रवृत्ति छ । लालमोहरको जगबाट हुने गरेको लिम्बुवान राज्य पुर्नःस्थापनार्थ लडेको अढाई सय शताब्दी पुग्न लागेको छ । अहिले नम्बरिङ प्रदेशको खाकाबाट शान्तिपूर्ण अभियानमार्फत् राज्य प्राप्त गर्नुको विकल्प छैन । राजनीतिमा असम्भब चिज हुदैन ।

अध्यक्ष लिम्बु विद्यार्थी मञ्च केन्द्रीय कार्य समिति
[email protected]