इटहरी । माया सम्झी सम्झी रुन्छौं बेकारमा, कसम खाँदै ढुङ्गा, छुन्छौं बेकारमा...... शब्द खेलाउन माहिर पत्रकार सुविद गरागाईले तिनै शब्दलाई गुँथेर गजल बनाए । अनि संगित भरे पछि गायिका बविना भट्टराईको स्वरमा उनै गुरागाई का शब्दले दर्शक दिर्घालाई चकमन्न बनायो । शिक्षण पेशा भ्याएर पनि पत्रकारीतामा छुट्टै पहिचान बनाएका गुरागार्ईको प्रतिभा शुक्रबार साँझ इटहरीमा फरक पहिचान बनाउँदै पोखियो । लाग्थ्यो शब्द गुँथेर गजल सिर्जना गर्ननै उनले सादगी प्राप्त गरेका छन् । ‘सर्जकले कलात्मक र दुरुस्तै सिर्जना तयार गर्नु उसको धर्म हो’ गुरागाईको बारेमा कवि मनु मञ्जिलले भने ‘कता कता बहुला बहुला खालका शब्द गुथ्ने गुरागाईको कलाले उनका गजललाई झन् दरिलो बनाएको छ ।’ गुरागाईको जगल सग्रह जुनको आगोको होम–लञ्च आफैंमा फरक प्रस्तुति थियो । नौ वटा गजलका सेरमा संगित भरेर गायक गायिकाले स्वर थप्दा इटहरी वैंकट हलमा शुक्रबार साँझ दर्शकले दुई घण्टा समय बितेको पत्तै पाइनन् । जानी नजानी माया लाएको तिम्रै लागि त हो नी रहर रहरमै दुःख पाएको तिम्रै लागि त हो नि... यीनै शब्दमा जब गायक दुर्गा पराजुली स्वर भरे । दर्शकको आँखा सुविदकी धर्म पत्नी बविता गुरागाईको नजरमा तेर्सियो । सिर्जनालाई कलात्मक र दुरुस्तै बनाउनु श्रष्टाको सफलता पनि त हो । झण्डै तीन दशक अघिदेखि उब्जीएका गुरागाईका भावनालाई संग्रहित गर्न एनआरएन हिक्कत थापाले लगाएको गुनलाई उनले कार्यक्रमै सम्झीए । नेपाल अफ्रीका साहित्यीक समाजले बाहिर ल्याएको जुनको आगोमा संगित र स्वर भरिए पछि लाग्थ्यो सुगम संगितमा गुरागाईका शब्द अब्बल छन् । तीनले राम्रै ठाउँ प्राप्त गर्नेछन् । संगित साधना प्रतिष्ठान इटहरी सहित अन्य कलाकारले प्रत्यक्ष संगित भरी गायक गोपाल अधिकारीले रमिता यो के हो, यहाँ भीड किन वेला छैन राम्रो यो समय चिन..... बाट शुरु भएको प्रस्तूतिमा उनैले ज्यूँदै मैले सजाउन जानीन मान्छेको भीडमा रमाउन जानीन .....मा पनि स्वर दिए । प्रेमिकालाई जुनमा तुलना गरेर ८४ वटा विना शिर्षकका गजल जुनको आगोमा पस्किएका गुरागाईले हरेक गजलमा आफ्नै शिर्षक उब्जीन्थे । जुनको आगोमा नसमेटिकोे माया गर्नु नगर्नु मर्जी हजुरकै जालमा पर्नु नपर्नु मर्जी हजुरकै..... गजलमा प्राज्ञ राम धामीले बोलमा स्वर भर्दा जुनको आगो भित्रैको गजल जिन्दगीसँग विरोध जनाउन म कोशी किनारमा छु बालुवा जोड्दै महल बनाउन म कोशी किनारमा छु.... मोहन तिम्सिनाको संगितामा भुवना अघिकारीले स्वर भरिन् । दर्शकलाई नयाँ स्वाद दिन सफल होम लन्चमा गायक संजीव धिमालले भूमिका लिम्बूको साथमा प्यारो घाउ एक्लै दुख्नु नदुखाउनु मनको फुल एक्लै रुनु नरुवाउनु मा स्वर भरे भने धिमालको एक्लो प्रस्तुतिमा मायाले मलाई भुतुक्कै पारेर दुनियाँ रुवायो जिउँदै मारेर....मा स्वर भरी दर्शकलाई थप मनोरञ्न दिए । जेवी थुलुङको संगितमा भूमिका लिम्बूको एक्लो प्रस्तुति थियो । छिनमै लहर उठेर आउँछ, छिनमै शान्त हुन्छ । छिनमै मुटु दुखेर आउँछ, छिनमै शान्त हुन्छ.... आर्थिक अभावमा तीन दशक सिरानीमै थन्किएका गुरागाईका गजलका शेरले बल्ल पुस्तकको आकार पाएको छ । हारमुनियम, तवल र गिटारका धुनमा शब्द कुद्ने मौका पाउनुले ढिलै भए पनि उनका रचनाले उचाई लिएको छ । ट्रक साहित्यमार्फत सर्जक दिर्घामा उपस्थिती जनाएका गुरागाईले त्यस भन्दा अघि पनि विभिन्न उपन्यासमा आफ्नो सहभागिता जनाएका छन् । संजोग पनि उस्तै थियो । शुक्रबारको रातमा ग्रहणले चन्द्रमालाई कालो धब्बा दिएकै रात गुरागाईको जुनको आगोको होम लन्च । इटहरीका प्रायः प्रतिनिधी पात्रको उपस्थितीमाझ भएको जुनको आगोको होम लन्च पछि गजलकार टिका आत्रेयले उत्कृष्ट गजल भएको बताइन् ।