पथरी । कानेपोखरी गाउँपालिकाले दोस्रो गाउँसभाद्रारा पारित आगामी आर्थिक वर्ष ०७५/०७६ को बजेट, नीति तथा कार्यक्रमहरु सार्वजानिक गरेको छ । सोमबार गाउँपालिकाले रमाइलो साकोसको सभाहलमा ४१ करोड ९० लाख ८७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । बजेटलाई प्रमुख अतिथि समेत रहेका १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बजेटको किताव खोली कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै घिमिरेले गाउँपालिका स्तरीय फुटबल मैदान, बयरवन स्वास्थ चौकी, बृद्धबृद्धाहरुलाई चोक चोकमा गफिने चौतारा, विद्यालयमा विज्ञानको सामाग्री, रमाइलो बहुमुखी क्यापस स्तराेन्नती लगाएतका स्थानमा गाउँपालिकासँग सहकार्यमा निमार्ण तथा सहयोग गर्ने बताए । कार्यक्रममा गाउँपालिकाको प्रवक्ता सुशिल बुढाथोकीले आगामी बर्षको बजेट प्रस्तुत गरेका थिए । संघबाट २३ करोड ५३ लाख, प्रेदश सरकारबाट ३६ लाख ६७ हजार, अन्य अनुदानबाट ५ लाख, एनएल आर अनुदान ७ लाख, एजिसिडिपिबाट ११ लाख, सामाजिक सुरक्षा अनुदान ६५ लाख, राजश्व बाँडफाटबाट ७ करोड २९ लाख ४३ हजार, फोहोर व्यावस्थापन सेवा शुल्कबाट १ लाख, सडक मर्मत सेवा सुविधा ३ लाख, घरअभिलेखीकरण तथा घरनक्शा पास १४ लाख ७७ हजार, व्यवसायीक कर ३ लाख, एकीकृत सम्पत्ती कर ७० लाख, वाहाल बिटौरीबाट ३० लाख, दस्तुबाट ३५ लाख, हाटबट्टीकरबाट ६ लाख, श्रोत बाँडफाडबाट ३५ लाख, गत बर्षको अल्या १ करोड गरी जम्मा ४० करोड ९०लाख ८७ हजार बजेट सभामा आय प्रस्तुत गरेका थिए ।

यसैगरी आर्थिक बिकासमा १ करोड ४ लाख ३२ हजार,सामाजिक विकास १४ करोड १७ हजार, पूर्वाधार बिकासमा १० करोड ६ लाख ७५ हजार, वातावारण तथा विपत व्यावस्थापन १ करोड १४ लाख, संस्थागत विकास तथा सेवा प्रवाह २ करोड १४ लाख २० हजार, वित्तिय व्यावस्थापन र सुशासन ९ लाख, कार्यालय संचालन तथा प्रशासनीकमा १२ करोड ४९लाख ४३हजार, सामाजिक सुरक्षामा ६ करोड ५० लाख गरी जम्मा ४० करोड ९०लाख,८७ हजार प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०७४÷०७५ मा कुल योजना तथा कार्यक्रम संख्या ६३० वटा मध्ये ५५२ मात्र सम्पन्न भएको जनाएको छ । गत बर्ष कुल जम्मा चालु खर्च ९३.२६ प्रतिशत,कुल जम्मा पुजिगत खर्चमा ८०.१६प्रतिशत र जम्मा खर्च ८६.८९ प्रतिशत मात्र भएको थियो । कानेपोखरी गाउँपालिका भित्र ३.५ किलोमिटर कालोपत्रे सडक, २६ कि.मी सडक ग्राभेल,बयरवन स्वास्थ चौकीमा २४ घण्टे बर्थिङ सेन्टर,न्यायिक समितिमा ४३ वटा मुद्दाहरु फर्छौट भएको प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा दुई जनालाई सम्मान कानेपोखरी गाउँपालिकाले वडा नं. ४ ले वडागत र गाउँपालिकाबाट विनियोजित बजेटहरु सतप्रतिशत काम सम्पन्न गरेको भन्दै वडा नं. ४ वडाकार्यालयलाई सम्मान गरेका छन् । कामको मुल्याङ्कन गर्दै वडाका वडाध्यक्ष धनबहादुर राईलाई सम्मान गरेको हो । त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागरायण न्यौपानेलाई पनि गाउँपालिकाले सम्मान गरेको छ । प्रशासन फाटको उच्चमुल्याङ्कन गर्दै गाउँपालिकाले सम्मान गरेको हो । दुवै जनालाई सम्मान पत्र र दोसल्लाले प्रमुख अतिथि मन्त्रि घिमिरे र गाउँपालिका अध्यक्ष काफ्लेले सम्मान गरेको थियो ।

वडा कार्यालयलाई जग्गा निःशुल्क दिनेलाई गाउँपालिकाको सम्मान कानेपोखरी गाउँपालिकाको दुई वडालाई जग्गा निःशुल्क दिने दुई व्यक्तिलाई गाउँपालिकाले सम्मान गरेको छ । वडा नम्बर ३ का अमृत खड्काले वडा नम्बर ३ वडाकार्यालय व्यवस्थापन गर्न ३ कट्ठा जग्गा दिएका थिए । त्यसैगरी वडा नम्बर ७ का डिल्ली ओझाले वडा नम्बर ७ को वडाकार्यालय व्यवस्थापन गर्न ३ कट्ठा जग्गा दिएका थिए । सामाजिक विकास मन्त्री घिमिरे र गाउँपालिका अध्यक्ष काफ्लेले जग्गा दाता दुवैलाई सम्मान पत्र,दोसल्ला र मायाको चिनो दिएर सम्मान गरेको छ । वडा नं. ३ र ७ अहिले वडाकार्यालय घरभाडामा बस्र्दै आएको छ ।