विराटनगर । निजी विद्यालयका शिक्षकहरुले आफूहरुलाई स्कूलले नियुक्ति पत्र नदिने गरेको कारणले गर्दा जुनसुकै बेलामा पनि पेशाबाट हडनुपर्ने अवस्था आएको बताएका छन् । वर्षो देखी काम गरेको निजी विद्यालयहरुले शिक्षकहरुलाई काम गरेको नियुक्ति पत्रदेखी श्रम एनले तोकेबोमाजिकमको तलब सुविधा नदिने गरेको विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले दुखेसो गरेका छन् । सरकारी विद्यालयको शैक्षिक गुणस्तर छैन, तर ती विद्यालयका शिक्षकको तलब सुविधा निक्कै माथि छ । तर, तिनै शैक्षिक गुणस्तर कायम गर्न बिहानदेखि बेलुका सम्म खटिने निजी विद्यालयका शिक्षकको न त पारिश्रमीक आकर्षक छ, न त श्रमको सम्मान नै छ भन्दै पत्रकार सम्मेलनमा उनीहरुले गुनासो पोखे । निजी विद्यालयका शिक्षकहरुले आफूहरुलाई नियुक्ति पत्र नदिने गरेको र जुनसुकै बेला पेशाबाट हात धुनुपर्ने अवस्था रहेको भन्दै सरकारले आफूहरुको गुनासो राज्यले समते नसुनेको बताए । ‘मोरङका ९९ प्रतिशत विद्यालयले नियुक्ति पत्र बिना काम गर्नुपरेको अवस्था छ,’ निजी विद्यालयका शिक्षक विक्रम देवले भने, ‘२० वर्षदेखि निजी विद्यालयमा पढायो, अन्तिममा निस्कदा रित्तो हात फर्किनुपर्ने अवस्था छ ।’ टाइ सुटमा ठाँटिएर हिंडेको देख्दा धेरै कमाएको ठान्नेहरु भए पनि आफूहरुको समस्या अर्कै रहेको शिक्षक तथा भ्रष्टाचार विरुद्धको अभियानका शिक्षा संयोजक चिराग सरलले बताए । ‘निजी विद्यालयका शिक्षकहरु देख्दा टाइ सुटमा ठाँटिएको देखिन्छ,’ उनले भने, ‘तर, हाम्रो पेट भोको हुन्छ, हाम्रो परिवारमा झैझगडा हुन्छ, हामीले छिमेकीको विवाह कार्जेदेखि मरिमराउमा पनि जान पाएका हुँदैनौं ।’ ‘बिरामी हुँदा पेन किलर खाएर काममा आउ भन्छन्, उनले भने, ‘नियुक्ति पत्र पनि दिंदैनन्, बिहानदेखि बेलुकासम्म काम गर्नुपर्छ, पारिश्रमीक लिएर घर जाँदा झगडा मात्रै हुन्छ । ’ पत्रकार सम्मेलनमा आफ्नो दुःख पोख्दै निजी विद्यालयमा २० वर्ष सेवा गरिसकेको बताउने शिक्षक नेत्र प्रसाद चौंलागाईंको समस्या पनि उस्तै छ । ‘काम गर्ने क्रममा वर्षमा कति विदा भन्ने केही उल्लेख छैन, कति पारिश्रमीक भन्ने कुनै आधार दिएको हुँदैन, बिरामी भएर हस्पिटलमा भएको बेला पनि काम गर्न आउनु भन्ने दबाब आउँछ,’ चौंलागाईंले भने, ‘हस्पिटलमा स्लाइन पानी लगाइरहेका शिक्षकलाई विद्यालयमा लगेर देखाउनु परेको उदाहरण पनि छन् ।’ निजी विद्यालयमा पठाउने शिक्षकको पहिचान नभएको र सामाजिक मर्यादा पनि खस्केको उनीहरुको गुनासो छ । ‘बैंकमा लोन लिन गयो काहाँ काम गर्छौ भनेर सोध्दा निजी विद्यालयमा भन्यो भने ऋण पनि पाइँदैन,’ शिक्षक प्रेम तामाङले भने, ‘अत्यन्तै कमजोर अवस्था भयो, सरकारले न्यूनतम पारिश्रमीक लागू गर्ने वातावरण बनाइदिए हुन्थ्यो ।’ नीतिगत तहमा आफूहरुको समस्या लिएर जाँदा घुमाइदिने गरेको अर्का शिक्षक विक्रम देवले बताए । ‘श्रम कार्यालयमा जाँदा, शिक्षा कार्यालय पठाइदिने, शिक्षा कार्यालयले प्याब्सन एन प्याब्सनलाई पठाइदिने गरेको छ,’ उनले भने, ‘प्रदेशको सामाजिक विकास मन्त्रालयमा जाँदा पनि ठोस जवाफ आएको छैन, अब कसरी हामी काम गर्ने ? ।’ आफूहरुको समस्या कुन ठाउँ जाँदा हल हुनेहो भन्ने विषयमा आफैं अनविज्ञ रहेको पनि उनले बताए । मोरङका ३ सय बढी निजी विद्यालयमा ५ हजार भन्दा बढी शिक्षक रहेको उनीहरुको भनाइ छ । पत्रकार सम्मेलन गरी दुखेसको पोख्दै शिक्षकहरु । तस्विर ः ब्लाष्ट अनिल श्रेष्ठ

संशोधित विनियोजन विधेयक पारित विराटनगर(ब्लाष्ट) ÷ प्रदेश नम्बर १ को सोमबार बसेको प्रदेशसभा सभा बैठकले विनियोजन विधेयकको पहिलो संशोधन प्रस्ताव पारित गरेको छ । प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएकोको उक्त विधेयकको संशोधन प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले संसदमा पेश गरेका थिए । उक्त संशोधन प्रस्तावको विपक्षमा कुनै पनि निवेदन नपरेपछि संशोधन प्रस्ताव सर्वसम्मत पारित भएको हो । अध्यादेशमार्फत ल्याइएको उक्त विधेयकमा बजेटमाथिको छलफल ६० दिन हुनुपर्नेलाई संशोधन गरेर १५ दिनमा पारित हुने उल्लेख गरिएको छ । गुरुङ पक्राउ गर्नु राजनीतिक कारण होइन यसैबिच प्रदेश सभा बैठकमा बोल्दै आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङ राजनीतिक आस्थाका आधारमा नभएर धाक धम्की देखाएको कारण पक्राउ गरिएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसदहरुले जवाफ माग गरेपछि सोमबार जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले बरु नियमअनुसार छिटो भन्दा छिटो अनुसन्धान टुंग्याएर मुद्दा चलाउन सम्बन्धीत निकायलाई निर्देशन दिइएको बताए । ‘मैले सुरक्षा निकाय र सम्बन्धीत निकायमा कुरा गरेको छु, सिजन गुरुङको विषयलाई छिटो अनुसन्धान टुंग्याएर मुद्दा चलाउन निर्देशन पनि दिएको छु,’ मन्त्री कार्कीले भने, ‘कांग्रेसका साथीहरुले यस घटनालाई राजनीतिक रुपमा भन्दा पनि सामाजिक अपराधको रुपमा हेर्नुपर्छ ।’ ६ वर्ष अगाडि आफैंले बेचेको जग्गाको विषयमा विवाद भएको जानकारी आफूलाई आएको मन्त्री कार्कीले बताए । ‘६ वर्षअघि सिजन गुरुङ आफैंले बेचविखन गरेको जग्गाको विषयषमा विवाद भएको रहेछ,’ उनले भने, ‘सोही विषयमा भएको छलफलमा गुरुङ र उनका आफन्तले जग्गा धनीलाई धामधम्की दिएको र कुटपीट गरेको पाइएको छ ।’ मन्त्री कार्कीले झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा फिल्मी स्टायलमा प्राकृतिक सम्पत्तीको दोहन भइरहेको पनि बताए । यसअघि संसदको शून्य समयमा बोल्दै प्रदेशसभा सांसदहरू बिमल कार्की, शौभाग्यवती राई, सर्वध्वज सावा, ज्योति सुब्बा, नवोदिता चौधरी, काजिमान कागतेलगायतले आफ्ना क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।