धरान । सांकेतिक भाषाको अहिलेसम्मकै बृहत् र वैज्ञानिक शब्दकोश र त्यसको एप काठमाडौंमा सोमबार सार्वजनिक भएको छ। चार हजार ७०० सय शब्द रहेको ‘नेपाली सांकेतिक भाषा शब्दकोश’ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विमोचन गरेका हुन्।

शब्दकोशमा भएका चार हजार सात सय शब्दमध्ये चार हजार तीन सय शब्दको अर्थ, संकेत भाषा, उदाहरणसहितको भिडियो एपमा दर्ता भइसकेको छ। ‘डिफ नेपाल एनएसएल लर्निङ’ एन्ड्रोइड भर्सनको 'एप' अब जोसुकैले डाउनलोड गर्नसक्ने राष्टिन्य बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीले बताए।

नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय भाषा विज्ञानसँगको सहकार्यमा नेपाल बहिरा महासंघले प्रकाशन गरेको शब्दकोषको सम्पादन किरण आचार्य र विकास घिमिरेले गरेका हुन्। नेपालमा २०४५ सालमा पहिलोपटक सांकेतिक भाषको शब्दकोश प्रकाशनमा आएको थियो। २०६० मा अनुमोदित सबै शब्द तथा पर्यायवाची सांकेतिक भाषा थप गरी दुई हजार दुई सय शब्द रहेको शब्दकोश प्रकाशित भएको थियो।