चलचित्र क्षेत्रमा बर्षमा केहि यूवा यूवती भाग्य चम्काउने सपना बोकेर आउँछन् । तर, कमै मात्रको भाग्य चम्कन्छ । भाग्य चम्कनु मात्र ठूलो कुरा होइन । चलचित्र क्षेत्रमा लामो रेशको घोडा बन्नु र बन्ने संभावना देखाउनु ठूलो कुरा हो ।

चलचित्र ‘ड्रिम्स’बाट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले संभावना देखाएकी थिइन् । अहिले, उनी चलचित्र क्षेत्रमा स्टार बन्ने दौडमा छिन् । साम्राज्ञीको डिमाण्ड पहिलो चलचित्र रिलिज भएपछि ह्वात्तै भयो । उनी, चलचित्र क्षेत्रकी नयाँ स्टारको रुपमा उदाइसकेकी छिन् ।

यसपछि, पनि केहि नायिकाहरु चलचित्र क्षेत्रमा आए । तर, कतिले चलचित्र चलुन्जेल चर्चा पाए त कतिले जसोतसो आफूलाई आगडि बढाइरहेका छन् ।

साम्राज्ञीपछि अर्की नायिकाको नेपाली चलचित्र क्षेत्रमा उदय भएको छ, जसले अब आफूलाई दरिलो रुपमा चलचित्र क्षेत्रमा अगाडि लैजान सक्छिन् । आजबाट रिलिज भएको चलचित्र ‘लिलिबिली’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका जसिता गुरुङले त्यस्तो बलियो संभावना बनाएकी छिन्, जसले अबको चलचित्र क्षेत्रमा आफूललाई दरिलो रुपमा उभ्याउन सक्छिन् ।

उनले चलचित्रमा गरेको कामको प्रशंसा गर्न कञ्जुस्याँई गर्नु हुँदैन । कारण, उनले चलचित्रलाई नै बोकेकी छिन् । नायक प्रदिप खड्का जस्ता स्टार भएको चलचित्रमा पनि जसिता जुन तरिकाले हाबी छिन्, त्यसले उनको कामको तारिफ गर्न सकिन्छ ।

जसिताको अभिनय, सुन्दरता, लुक्स, बोल्डनेश हरेक कुराको प्रशंसा गर्न सकिन्छ । साम्राज्ञीपछि नेपाली चलचित्र क्षेत्रले जसितालाई अर्की बुलन्द नायिकाको रुपमा पाएको छ । अब, जसिताले पनि चलचित्रको छनोटमा ध्यान दिने हो भने उनी हाई डिमाण्डेड नायिकाको रुपमा पर्ने पक्का छ ।