पानवारी । नेकपा एमाले धरान उपमहानगर कमिटिले एक कार्यक्रम आयोजना गरी नवनिर्वाचित सांसदलाई बधाइ तथा शुभकामना व्यक्त गरेको छ । शुक्रबार धरान–१ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद जयकुमार राई र सुनसरी क्षेत्र नं. १ क बाट निर्वाचित प्रदेश सांसद प्रदीप भण्डारीलाई बधाई तथा सम्मान गरेको हो । नवनिर्वाचित सांसद भण्डारी नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा धरान नगर इन्चार्ज हुन् भने राई नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा धरान नगर सह–इन्चार्ज हुन् । उनीहरुलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको एमाले धरान सचिव राजमणी निरौलाले बताएका छन् । सम्मान कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्म निरौला रहेका थिए भने कार्यक्रमको अध्यक्षता एमाले धरान कावा अध्यक्ष नारायण सुवेदीले गरेका थिए । कार्यक्रम सञ्चालन सचिव राजमणी निरौलाले गरेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा, उपप्रमुख मञ्जु भण्डारी, एमाले नेताहरु मोतिराज सुुनुवार, कृष्णकुमार राई, दलबहादुर छाया, प्रकाश राई लगायतको उपस्थिति रहेको थियो ।