पर्सा/विषालु सर्पको डसाइबाट आज बिहान वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ४ वर्षीय बालकको मृत्यु भएको छ । बारा जिल्लाको गढीमाई नगरपालिका–१५ डुम्मरवाना नयाँ बस्ती निवासी ध्रुव दुलालको ४ वर्षीय छोरा श्याम दुलालको मृत्यु भएको हो । घरमा सुतिरहेका श्यामलाई बिहान १ बजेको समयमा विषालु सर्पले डस्दा गम्भीर बिरामी भई उपचारका लागि उप–क्षेत्रीय अस्पतालमा ल्याउँदा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बढ्दै गएको गर्मी र वर्षाको कारण खेत तथा खुल्ला स्थानमा पानी जमेपछि उच्च स्थानतर्फ विशालु सर्प आउन थालेपछि तराईको बारा, पर्सामा सर्प दंशको घटना बढ्दै गएका छन् । आहारा र सुरक्षाको खोजीमा उच्च स्थान तथा बस्तीतर्फ आएका सर्पले डस्दा दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी अस्पताल आउने गरेको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा राकेश झाले जानकारी दिए । अस्पताल आउने बिरामीमध्ये आधा विषालु सर्पको डसाइबाट बिरामी हुने गरेको डा झाको भनाइ छ । -रासस