सुनसरी/ सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) केन्द्रीय समितिद्वारा ब्लाष्ट टाइम्स दैनिकका इटहरी सम्वाददाता एवम् सुकल्प सुनसरीका सचिव बाबुराम सुवेदीसहित देशभरबाट तीनजनालाई श्रेयस्कर सम्मान प्रदान गरिएको छ ।काठमाडौंमा शनिबार भएको महाभेलाको उद्घाटन कार्यक्रममा सुवेदीसहित तीनजनालाई श्रेयष्कर सम्मान प्रदान गरिएको हो ।

baburam

कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी एवम् नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीसहित विशिष्ट व्यक्तिको सहभागितामा सम्मान प्रदान गरिएको हो । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै श्रेयष्कर सम्मानसहितको ताम्रपत्र प्रदान गरिएको थियो ।सुवेदी कूलको रक्षाका लागि महत्वपूर्ण योगदान दिएको भन्दै इटहरीकै बद्रीप्रसाद सुवेदी र विराटनगरकी गंगा सुवेदीले सो सम्मान प्राप्त गरेका हुन् ।

विभिन्न व्यवसायमा रहेर पनि सुवेदीको कूल रक्षाका लागि निरन्तर लागिपरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि नवराज सुवेदी, नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदी, अध्यक्ष अरुण सुवेदी सहितका वक्ताले निरन्तरताको कामना गरे ।कार्यक्रममा देशभरका ९० वर्ष उमेर पार गरेका सुवेदी कूलका ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियो । यसैगरी सुकल्पले नेपाल सरकारमा मुख्य सचिव डा. सोमलाल सुवेदीसहित संविधानसभाका तीनजना सदस्य र विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने व्यक्तिहरुलाई सम्मान गरेको थियो ।महाभेलाले प्रा. राजेन्द्र सुवेदीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिमा पूर्वाञ्चल उपाध्यक्ष दिनेश सुवेदी, सुनसरीबाट पूर्णप्रसाद सुवेदी र कृष्णप्रसाद सुवेदी (बहुदल कान्छा) चयन भएका छन् । महाभेलाले सुकल्पको विधान समेत संशोधन गरी महिलाको ३३ प्रतिशत सहभागिता गराउनुका साथै विभिन्न विषयलाई समयसापेक्ष बनाएको विधान संशोधन समितिका सदस्य अधिवक्ता भवानी सुवेदीले जानकारी दिए ।