विजयपुर । सुनसरीको धरान–१० स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ४८ लाख ७३ हजार २२५ रुपैयाँ खुद नाफा गरेको छ ।

शनिबार सम्पन्न १४औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीले उक्त वर्ष ४ अर्ब ४२ करोड ७८ लाख ८४ हजार ७२४ रुपैयाँ कुल कारोबार गरेको छ । संस्थाको शेयर पुँजी २८ प्रतिशतले वृद्धि भई ७ करोड ४९ लाख ७४ हजार ४ सय रुपैयाँ पुगेको छ । शेयर सदस्य संख्या ८ हजार ७२८ पुगेको छ ।

सहकारीले २०८१/०८२ मा ७ करोड ८७ लाख ४९ हजार १५० रुपैयाँ आम्दानी र ६ करोड ३८ लाख ७५ हजार ९२४ रुपैयाँ खर्च गरेको जनाएको छ । यस्तै, आयकर, ब्याज कर, घरबहाल कर तथा सामाजिक सुरक्षा करलगायत शीर्षकमा ४२ लाख ४३ हजार ७०० रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको छ ।

साधारणसभामा प्रमुख कार्यकारी अधिकृत जीतबहादुर राउतले बचतमा ४० प्रतिशत, ऋण लगानीमा १२८ प्रतिशत र ऋण असुलीमा ११० प्रतिशत वृद्धि भएको जानकारी दिए । सहकारीले धरान–१० सैनिक चोकमा मुख्य कार्यालयसहित धरान–५ देउराली, इटहरी र बराहक्षेत्रको चक्रघट्टीमा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले नियमविपरीत कारोबार गरेका कारण धेरै सहकारी समस्यामा परेको भन्दै उद्यमशील सहकारीले मितव्ययी र नियमसंगत कारोबार गरेको बताए । उनले धरान उपमहानगरपालिकाले सहकारीलाई व्यवस्थित गर्न नयाँ सहकारी नियमावली अघि बढाउने जानकारी दिए ।

साधारणसभामा असल तथा नियमित बचतकर्ता, ऋणी, सदस्य तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । पत्रकार शेखरनाथ जोगीलाई १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।