पाँचथर । याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् ।
विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा वर्षौँदेखि चलिरहेका सडक, पुल, झोलुङ्गे पुल, भौतिक संरचना, घरगोठलगायतमा ठूलो क्षति भएको थियो । याङवरङ १ का मुरुङ्गा, मेवा र लम्बाखोला तथा अन्य ससाना खोल्सीमा आएको बाढी र सयौँ स्थानमा खसेको पहिरोले ठूलो क्षति पुर्याएको थियो । उक्त समय यहाँका समरजुङ, मगरडाँडा, कोप्चे, खोलाघारी, चोक, चाम्लिङडाँडा, बिरुवा वस्ती प्रभावित भएका थिए ।
उक्त समयको क्षति भुल्न नपाउँदै यस वर्ष गत जेठमा बाढीपहिरोले उस्तै क्षति पुर्याएपछि स्थानीयवासी चिन्तित छन् । इन्द्रबहादुर चाम्लिङले भने, “विसं २०८० को बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि हाम्रो जीवनकालमा यस्तो विपद् नआउने भन्ने धेरैलाई लागेको थियो । तर यसपालि त्यो भन्दा ठूलो विपद् आउँदा हामी अचम्मित भयौँ ।” उस्तै विपद् दोहोरिएपछि त्रासमा बाँच्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
चाम्लिङडाँडाका महमलाल खवासको घरको आगनबाट लम्बाखोलाको बाढी बगेपछि परिवार त्रासमा थियो । तर विगतमा जस्तो भयावह अवस्था नहोला भनेर खवास परिवारले घरलाई थप व्यवस्थित गर्यो । यस वर्ष विगतमा भन्दा भयावह बाढीपहिरो मात्रै आएन, खवासको घर नामोनिशान नरहने गरी बगाएर लग्यो ।
“पहिले पनि आँगनबाट बाढी बगेको थियो । तर घर नै बगाउँला भन्ने त सोचेका थिएनौँ । हामी लगाएको कपडामा दुई मिनेटको अन्तरमा भाग्न सफल भयौँ”, खवासले भने, “एक मिनेटको अन्तरमा घर बाढीले बगायो । मध्यरात भागेर बाँच्यौँ ।” खवास परिवार अहिले देउकुमार राईको बन्दकी लगाएर बसिरहेको छ । तर, त्रासले भने नछोडेको महमलालको भनाइ छ ।
कम्तीमा रु १० लाख लागत मूल्याङ्कन हुने घरसहित जग्गा जमिन र सबै सामग्री पहिरोले बगाएपछि खवास परिवार विदेश गएका छोराको मद्दतले जीविका चलाइरहेको छ । उक्त पहिरोमा महमलालका भाइ कविरमान खवासको घर तथा यहाँका रविन राई, रामकुमार राई, जहरमान बेघाल लगायत १६ परिवारको अलैँची तथा धान खेती बगरमा परिणत भएको छ ।
बाढीपहिरोमा चाम्लिङडाँडाका रामकुमार राईको घर त जोगिएको छ तर आम्दानीको बाटो समाप्त भएको उनको भनाइ छ । तीन वर्षअघि २०८० सालमा बर्सेनि करिब १० मन (४० किलो) उत्पादन हुने अलैँची बारी पहिरोले बगाएको थियो । अहिले त्योभन्दा दोब्बर बढी अलैँची फल्ने बारी बगाएपछि हातपाउ गलेको रामकुमारको भनाइ छ ।
“मेरो जति क्षति यो वडामा कसैको पनि भएन होला । विसं २०८० मै करिब १० मन अलैँची फल्ने जमिन बगाएर लगेको थियो । यस वर्ष करिब १५ मन उत्पादन हुने अलैँची खेती र दुई खला खेत बाढी र पहिरोले बगाएर लग्यो”, रामकुमारले भने, “अहिले सबै ढाँड बनेको छ । एक झ्याङ पनि अलैँची बाँकी रहेन, अलैँची टिप्ने बेलामा रामकुमारसँग अलैँचीको बगान नै बाँकी छैन ।”
बाढीपहिरोले चाम्लिङडाँडाकै रविन राईको घर जोखिममा पारेको छ । उनको घरभन्दा मुनि गैरीखेत पहिरोले तानेको छ भने अगाडि पँधेरे खेत बाढीले पुरेको छ । “हिउँदमा त ठिकै छ । बर्खा लागेपछि भाग्नैपर्ने होला”, रविनले भने, “बरु ढुङ्ग्रोबाट खन्याएको पातलो आउला, आकाशबाट त्योभन्दा ठूलो पानी पर्छ ।”
सरकारको बाटो नहेर्ने
प्राकृतिक विपत्तिमा घरको पूर्ण क्षति भएका परिवारलाई सरकारले जिल्ला दैवी प्रकोप समितिमार्फत रु चार लाख रकम दिने व्यवस्था रहेको छ । तर तीन किस्तामा प्राप्त हुने रकम लिन असाध्यै कठिन पर्ने बुझेर पहिरो प्रभावित महमलाल खवास सरकारको बाटो नहेर्ने सोचाइमा छन् ।
“घर निर्माण गर्न तीन किस्तामा रकम आउने रहेछ । पालिका गएँ, फिदिम (सदरमुकाम) गएँ । तर मैले प्रक्रिया पूरा गर्दागर्दै साहुबाट काढेको रु नौ हजार सकियो”, खवासले भने, “अब म नखोज्ने, बरु आफैँ बनाएर बस्ने । खोज्दाखोज्दै ऋणमा डुबिने रहेछ । अझै केही समय अर्कैको घरमा जीविका चलाउँछु ।”
विदेश गएको छोरो आएपछि गाउँकै पाखाभित्तामा जग्गा खोजेर घर बनाउने योजना खवास परिवारको छ । त्यसैले उनीहरू सरकारसँग केही नमाग्ने पक्षमा छन् । “अब सबैको क्षति भएको छ, सरकारले कसलाई राहत दिएर सकोस् र ? हामीले खोज्न पनि छाडेको”, महमलालले भने, “हाम्रो ज्यान बाँचेकै छ । कमाएर केही गरौँला भन्ने सोच बनाएका हौँ ।”
स्थानीय तहले क्षतिपूर्ति दिन नसक्ने र माथिल्ला निकायले वास्ता नगर्ने हुँदा कुनै प्रकारको राहत पाउने आशा अर्का प्रभावित रामकुमार राईसँग पनि छैन । “पहिले पनि क्षतिपूर्तिका लागि निवेदन पेस गर्यौँ । तर कुनै राहत आएको बुझिएन”, रामकुमारले भने, “हामीलाई क्षतिपूर्तिका लागि आवेदन मागिएको थियो । तर पहिलेकै क्षतिमा कुनै क्षतिपूर्ति नभएपछि मैले त क्षतिको विवरण पनि दिन मन लागेन । बाँचियो भने भयो ।” रासस

































