भद्रपुर । प्रतिबन्धित भारतीय चिठ्ठा र नगदसहित मेचीनगरमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं. ६ काँकडभिट्टाका ४५ वर्षीय गेलु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना विवरणअनुसार शनिबार बिहान ११ बजे शेर्पाले आफ्नै घरमा प्रतिबन्धित चिठ्ठा बिक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शेर्पालाई नियन्त्रणमा लिई उनको घरमा खानतलासी गरेको जिल्लाका डिएसपी रञ्जन अवालेले जानकारी दिए । 

प्रहरीले रोयल लेखिएको भारतीय चिठ्ठा थान-१३ बुङ (प्रतिबुङ १ सय पिसका दरले जम्मा १ हजार ३ सय थान) र नेपाली रुपैयाँ १ हजार दरका नोट १८ थानको  १८ हजार, ५ सय दरका नोट २४ थानले १२ हजार, १ सय दरका नोट ६१ थानले ६ हजार १ सय र ५० दरको नोट ८ थानले ४ सय गरी जम्मा ३६ हजार पाँचसय रुपैयाँ बरामद भएको डिएसपी अवालेले जनाए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरी कार्यालयले जनाएको छ । 

जिल्लामा दैनिक भारतबाट ल्याएर नेपालतर्फका कारोबारीले भारतीय चिठ्ठाको कारोकार गरिरहँदा पनि यसको नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले सक्रियता नदेखाएकोमा स्थानीयबासी चिन्तित बनेका छन् । प्रहरीकै अगाडि कारोबारीले खुलेआम सर्वसाधारणलाई चिठ्ठा बिक्री गर्दा पनि प्रहरीले नदेखेको जस्तो गरेको स्थानीयको आरोप छ ।

चिठ्ठाको लतमा लागेर भद्रपुर, चन्द्रगढीलगायतका उद्योगी, व्यापारी, सुन तथा भाँडाकुँडा व्यवसायी डुबेका छन् । सुरुसुरुमा भारतीय कारोबारी नै आएर नेपालमा चिठ्ठा बिक्री गर्थे भने पछिल्लो समय नेपालीले नै भारतबाट चिठ्ठा ल्याएर बिक्री गर्दै आइरहेको घटनाक्रमले पुष्टि गरेको छ । 

जिल्लाका सीमावर्ती नाका भद्रपुरको मुख्य बजार, पुरानो नगरपालिका कार्यालयनजिक, भन्सार छेउ सिटीसफारी स्टेण्ड, पुरानो हुलाक कार्यालय, हिमालय बैङ्कछेउ, चन्द्रगढी, बिर्तामोडस्थित भद्रपुर रोडको बस स्टेण्ड, धुलाबारीको पुरानो हङ्कङ बजार, काँकडभिट्टाको बसपार्क, सुपाडी लाइन, भट्टराई चोक, बाहुनडाँगी रोड, भन्सार कार्यालय र इप्रकापछाडि, ट्याक्सी पार्कछेउछाउ, सतिघट्टा रोडलगायतका ठाउँहरूमा बिक्री भइरहेको खरिदकर्ताहरूको भनाइ छ । 

चिठ्ठामा १ करोड भारतीय रुपैयाँ पर्ने भन्दै गिरोहले बिहान, दिउँसो र बेलुकाको समयको चिठ्ठा बेच्ने गरेका छन् । भारतीय बजारमा छ्यापछ्याप्ती पाउने चिठ्ठा नेपालका कारोबारीले गोजी, झोलामा र पसल-पसलमा राखेर बेच्ने गरेको पाइएको छ ।  

 चिठ्ठा (लोट्री) पर्ने भन्दै सुन व्यवसायी, भाँडा व्यापारीलगायत सीमावर्ती क्षेत्रका स्थानीयवासीलाई चिठ्ठा खरिद गर्न लगाई दैनिक भारतीय पाँचलाख रुपैयाँ सङ्कलन गर्ने गरेको खरिदकर्ताको भनाइ छ । यो उनीहरूको दैनिकी नै बनेको छ ।