विराटनगर । चाडपर्व नजिकिएसँगै विराटनगरमा तीव्र पारिएको बजार अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रिएका अखाद्य वस्तु बिक्रीका लागि राखिएको पाइएको छ ।

सोमबार संयुक्त अनुगमन टोलीले बजारका ९ वटा पसलमा गरेको आकस्मिक निरीक्षणमा ८ वटा पसलमा उपभोग्य मिति सकिएका खाद्यवस्तु फेला परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले विराटनगरको हाटखोला क्षेत्रबाट अनुगमन सुरु गरेको थियो । अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका सामग्रीहरू टोलीले तत्काल नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख दीपेशकुमार झाका अनुसार अनुगमन गरिएका धेरैजसो पसलले उपभोक्ताले देख्ने गरी मूल्यसूचीसमेत नराखेको पाइएको छ ।

“८ वटा पसलमा म्याद नाघेका अखाद्य वस्तु भेटिएपछि तत्काल नष्ट गरेका छौँ” प्रमुख झाले भने, “एउटा पसलमा बिलविजक नै नराखी कारोबार गरेको पाइएपछि १० हजार रुपैयाँ जरिबाना गरिएको छ । मूल्यसूची नराख्नेहरूलाई तत्काल टाँस्न निर्देशन दिइएको छ ।” चाडपर्वको मौका छोपेर हुने कालोबजारी र अखाद्य वस्तुको बिक्री रोक्न अनुगमनलाई निरन्तरता दिइने उनले बताए ।