विजयपुर । सुनसरीको धरान उपमहानगरपालिकाका दुई सामुदायिक विद्यालयमा रिक्त शिक्षक तथा कर्मचारीको पदपूर्ति माग गर्दै आन्दोलनमा उत्रिएको धरान नगर बाल सञ्जाल नै विभाजित देखिएको छ ।
नगर बाल सञ्जालले आफ्ना माग सम्बोधन भएको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको घोषणा गरे पनि केही विद्यार्थीले भने धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालय पानबारीमा तालाबन्दी गरेका छन् ।
धरान उपमहानगरपालिकाले शिक्षक पदपूर्तिका लागि परीक्षा सञ्चालन गरिसकेको भन्दै नगर बाल सञ्जालले आफ्ना माग सम्बोधन भएको जनाएको हो । नगर बाल सञ्जालका अध्यक्ष मानव विश्वकर्माद्वारा जारी विज्ञप्तिमा विद्यार्थीका माग सम्बोधनको प्रक्रियामा अघि बढेकाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको उल्लेख छ ।
विज्ञप्तिमा धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालय र धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक तथा कर्मचारीको अभावका कारण विद्यार्थीको पठनपाठन तथा शैक्षिक अधिकार प्रभावित भएको भन्दै नगर बाल सञ्जालको नेतृत्वमा विभिन्न चरणमा दबाबमूलक कार्यक्रम सञ्चालन गरिएको उल्लेख छ ।
नगर बाल सञ्जालका अनुसार आफ्ना मागलाई धरान उपमहानगरपालिकाले गम्भीरतापूर्वक लिँदै आवश्यक पहल, समन्वय र सहजीकरण गरेपछि माग सम्बोधनको प्रक्रिया अघि बढेकाले आन्दोलन स्थगित गरिएको हो ।
विज्ञप्तिअनुसार सरस्वती माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति भइसकेको छ । विद्यालयका प्रधानाध्यापक होमनाथ दाहालका अनुसार हर्कराज कुलुङ शिक्षक नियुक्त भइसकेका छन् । उनका अनुसार केही दिनमै कर्मचारी पदपूर्तिका लागि परीक्षा सञ्चालन हुने तयारी छ ।
त्यस्तै, धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि परीक्षा सञ्चालन भइरहेको नगर बाल सञ्जालले जनाएको छ । तर, बाल सञ्जालले आन्दोलन स्थगित गरेको घोषणा गरेपछि पनि सरस्वती माध्यमिक विद्यालयमा केही विद्यार्थीले तालाबन्दी गरेका छन् । आन्दोलनरत विद्यार्थीले धरान–११ को बाल सञ्जालका अध्यक्ष रोजन शंकरसँग सहमति नगरी गरिएको निर्णयलाई स्वीकार नगर्ने बताएका छन् ।
आन्दोलनका क्रममा विशेष परिस्थिति सिर्जना हुँदा शंकर अस्वस्थ भई अस्पताल भर्ना भएको र हाल उनको स्वास्थ्यमा सुधार भइरहेको सञ्जालले जनाएको छ । सरस्वती माध्यमिक विद्यालयमा रोजनको हस्ताक्षरबिनाको सहमति अमान्य हुने भन्दै केही विद्यार्थीले विरोध जनाएका हुन् । प्रधानाध्यापक दाहालका अनुसार विद्यार्थीले विद्यालयको गेटमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण दोस्रो घण्टीपछि पठनपाठन आंशिक रूपमा प्रभावित भएको उनले बताए । प्रधानाध्यापक दाहालले फोन सम्पर्कमा भने, “दुई धारको खिचातानीले विद्यालयको शैक्षिक वातावरणमा असर पर्ने भयो ।”
विद्यार्थीहरूले शंकरसँग सहमति नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । यसले नगर बाल सञ्जालले आन्दोलन स्थगित गरेको घोषणा गरे पनि विद्यालयस्तरमा विवाद तत्काल समाधान नभएको देखिएको छ । नगर बाल सञ्जालले भने विद्यालयमा शिक्षक तथा कर्मचारीको पर्याप्त व्यवस्थापन गरी विद्यार्थीको पठनपाठन सहज बनाउन सम्बन्धित निकायको निरन्तर ध्यान जानुपर्नेमा जोड दिएको छ ।

































