विजयपुर । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप दुई जनाको शव फेला परेको छ । यससँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प जान गएका २२ जना नेपाली नागरिकमध्ये १० जना सकुशल फु–गाउँ आइपुगेका थिए । हिमपहिरोपछि बाँकी १२ जना सम्पर्कविहीन भएका थिए ।

सम्पर्कविहीनमध्ये यसअघि दुई जनाको शव उद्धार गरिएको थियो । उद्धार गरिएका शव प्रदेश अस्पताल चामे, मनाङमा ल्याइएपछि असोज १२ गते हेलिकप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको थियो ।

शिक्षण अस्पताल पठाइएका शव संखुवासभाको भोटखोला गाउँपालिका–३ का ५२ वर्षीय छेबि भोटे र भोटखोला गाउँपालिका–२ का ३१ वर्षीय पासाङ भोटेको रहेको प्रहरीले जनाएको छ । यसैबीच, हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल चामे ल्याइएको छ । उद्धार गरिएका दुवै शवको पहिचान हालसम्म नखुलेको प्रहरीले जनाएको छ ।

हिम्लुङ बेस क्याम्प प्रहरी कार्यालयबाट पैदल करिब तीन दिन उत्तरतर्फको दुर्गम क्षेत्रमा रहेको छ । हिमपहिरोपछि सम्पर्कविहीन रहेका अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।