विजयपुर । धरान उपमहानगरपालिकाका दुई विद्यालयमा शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत बाल सञ्जालका अध्यक्ष रोशन शंकरले फिनेल सेवन गरेका छन् ।
शंकरले शुक्रबार बेलुका धरान उपमहानगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा फिनेल सेवन गरेका हुन् । फिनेल सेवनपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ ।
धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालय र धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा आवश्यक शिक्षक व्यवस्थापन गर्न माग गर्दै विद्यार्थीहरू बिहीबारदेखि अनशनरत थिए ।
शिक्षकको माग पूरा गर्न दबाब दिँदै विद्यार्थीहरूले यसअघि नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए । आन्दोलनकै क्रममा शंकरले फिनेल सेवन गरेका हुन् ।
उनले के कारणले फिनेल सेवन गरेका हुन् भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन ।
































