विजयपुर । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलको निकासद्वार फेला परेको छ ।

नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोलीले तीनवटा डोजर र एउटा सानो उत्खनन यन्त्र प्रयोग गरी माटो पन्छाउने क्रममा टनेलको निकासद्वार फेला पारेको हो । कम्प्रेसर मेसिन, ब्रेकर तथा विस्फोटक पदार्थ प्रयोग गरी माटो तथा अवरोध हटाइएको थियो। वर्षाका कारण टनेलभित्र जम्मा भएको करिब १.५ मिटर पानी पम्पमार्फत बाहिर निकाल्ने कामसमेत गरिएको नेपाली सेनाले जनाएको छ ।

रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनासहित विभिन्न उद्धार टोली प्रभावित क्षेत्रमा परिचालित छन् । टोलीले टनेलभित्र फसेकाको खोजी, घाइतेको उद्धार तथा शव व्यवस्थापनको काम गरिरहेको छ । 

रसुवागढी जलविद्युत् आयोजनाको टनेलमा उद्धार टोली करिब १५० मिटरभित्र पुगे पनि ठूला चट्टानका कारण थप अघि बढ्न नसकेपछि पुनः खोज तथा उद्धार कार्य जारी राखिएको छ ।

लाङटाङ जलविद्युत् आयोजनामा विदेशी विज्ञसहित २५ जनाको संयुक्त उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार गरिरहेको छ। चिलिमे जलविद्युत् आयोजनामा पनि विदेशी विज्ञसहितको संयुक्त टोली उद्धार कार्यमा परिचालित छ ।

अपर त्रिशूली–१ को हाँकु क्षेत्रमा नेपाली सेनाको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ । यस्तै, त्रिशूली–३ ‘बी’ मा नेपाली सेनाका ६१ जना, तीन जना गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजना कार्यालय र कर्मचारी आवास रहेको क्षेत्र पहिचान गरेको छ । उक्त क्षेत्रमा पुग्न उत्खनन यन्त्रको प्रयोग गरी बाटो निर्माण भइरहेको छ ।

यसैबीच, प्रभावित क्षेत्रमा स्थलमार्गबाट हुने खोज तथा उद्धार कार्यलाई पनि व्यापक बनाइएको छ । जङ्गल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष सम्पर्क गरी अवस्थाबारे जानकारी लिने र उद्धारको आवश्यकता मूल्याङ्कन गर्ने काम भइरहेको छ । त्रिशूलीपारिको लोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोट जिल्लाका विभिन्न स्थानमा समेत खोज तथा उद्धार कार्य जारी रहेको छ । टिमुरे क्षेत्रमा फेला परेका शवलाई त्रिशूलीसम्म ल्याउन हेलिकोप्टरबाट भारी सामग्री तथा शव स्थानान्तरण गर्ने ‘स्लिङ लोड’ उद्धार कार्यसमेत सुरु गरिएको छ ।

नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ९ हजार २ सयभन्दा बढी सैनिक परिचालित छन् । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका कार्य समन्वयात्मक रूपमा गरिरहेका छन् ।