विजयपुर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको तीन प्रमुख पदमा नयाँ पदाधिकारी नियुक्त भएका छन् ।

प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा. स्मृति कार्कीको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहेताले मंगलबार शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त गरेकी हुन् ।

मन्त्री मेहेताले शिक्षाध्यक्षमा प्राध्यापक डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्रकुमार लिम्बूलाई नियुक्त गरेकी हुन् ।

तीनवटै पदका लागि उपकुलपति कार्कीले तीन–तीन जनाको नाम सिफारिस गरेकी थिइन् । शिक्षाध्यक्षका लागि प्राध्यापक डा. शिवेन्द्र झासहित प्राध्यापक डा. कृष्णा पोखरेल र प्राध्यापक डा. रोविन मास्केको नाम सिफारिस गरिएको थियो ।

त्यस्तै, रजिस्ट्रार पदका लागि धरणीधर बरालसहित प्राध्यापक डा. शम्शेर श्रेष्ठ र सागर ताम्राकार तथा अस्पताल निर्देशक पदका लागि डा. इन्द्रकुमार लिम्बूसहित डा. मधुर बस्नेत र सेराज अहमत खानको नाम सिफारिस गरिएको थियो । सिफारिस भएका नाममध्येबाट मन्त्री मेहेताले तीनै पदमा एक–एक जनालाई नियुक्त गरेकी हुन् ।

लामो शैक्षिक अनुभव भएका झा शिक्षाध्यक्ष

नवनियुक्त शिक्षाध्यक्ष प्राध्यापक डा. शिवेन्द्र झासँग प्रतिष्ठानको शैक्षिक क्षेत्रमा लामो अनुभव छ । उनले प्रतिष्ठानमा लामो समय शैक्षिक डिनका रूपमा जिम्मेवारी सम्हाल्दै शैक्षिक प्रशासन तथा चिकित्सा शिक्षाको क्षेत्रमा काम गरेका छन् ।

झा हाल प्रतिष्ठानको फरेन्सिक मेडिसिन विभागका विभागीय प्रमुखका रूपमा कार्यरत छन्। प्रतिष्ठानको शैक्षिक गतिविधि, चिकित्सा शिक्षा र शैक्षिक प्रशासनमा उनको लामो अनुभव रहेकाले शिक्षाध्यक्षका रूपमा उनको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रशासनिक अनुभव भएका बराल रजिस्ट्रार

नवनियुक्त रजिस्ट्रार धरणीधर बराल प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्। प्रतिष्ठानको आन्तरिक प्रशासन तथा व्यवस्थापनबारे अनुभव रहेका बरालले प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।

शैक्षिक तथा कर्मचारी व्यवस्थापनमा समन्वय कायम गर्दै प्रतिष्ठानको प्रशासनिक कार्यलाई चुस्त बनाउने जिम्मेवारी अब बरालको काँधमा आएको छ।

अस्पताल निर्देशकमा लिम्बू

अस्पताल निर्देशकमा नियुक्त डा. इन्द्रकुमार लिम्बू प्रतिष्ठानको कलेज अफ डेन्टलमा प्रोस्थोडोन्टिक्स विभागका एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्।

लिम्बूले प्रतिष्ठानमा लामो समय डेपुटी अस्पताल निर्देशकका रूपमा काम गरिसकेका छन्। उनले निमित्त प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। पछिल्लो समय उनी निमित्त अस्पताल निर्देशकका रूपमा कार्यरत थिए।

निमित्त अस्पताल निर्देशकका रूपमा लिम्बूले गरेको कार्यसम्पादनको प्रतिष्ठानका चिकित्सक, कर्मचारी तथा विद्यार्थीका साथै सेवाग्राहीले समेत प्रशंसा गर्दै आएका थिए। अस्पतालको दैनिक सेवा व्यवस्थापन, प्रशासनिक समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन उनले निर्वाह गरेको भूमिकाको प्रतिष्ठानभित्र सकारात्मक चर्चा हुने गरेको छ।

तीन प्रमुख पदमा अनुभवी व्यक्तिहरू नियुक्त भएसँगै प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा अस्पताल सेवामा सुधारको अपेक्षा गरिएको छ। प्रतिष्ठानमा लामो समयदेखि देखिँदै आएका समस्या समाधान गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने चुनौती भने नवनियुक्त पदाधिकारीसामु रहेको छ।

नवनियुक्त शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशकले आपसी समन्वय कायम गर्दै प्रतिष्ठानको शैक्षिक गुणस्तर, प्रशासनिक सुशासन र स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने देखिन्छ।