विजयपुर । सुनसरीमा प्रहरीले ४५ किलोभन्दा बढी लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार दुहबी नगरपालिका–११ स्थित नहर चोकको भित्री सडकखण्डमा अस्थायी प्रहरी चौकी तनमुनाबाट खटिएको टोलीले नहर चोकतर्फबाट शुक्रबारेतर्फ जाँदै गरेको को २१ प ७९८० नम्बरको मोटरसाइकलबाट २८ किलो गाँजा बरामद गरेको हो । गाँजासहित मोटरसाइकल चालक सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का २३ वर्षीय एम.डी. जावेद मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, सोही दिन कोशी गाउँपालिका–१, लौकहीबाट प्रहरीले थप १७ किलो १४० ग्राम गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले मधुवनबाट लौकहीतर्फ आउँदै गरेको ना.६० प ५३९१ नम्बरको मोटरसाइकलबाट बरामद गरेको हो ।

प्रहरीले मोटरसाइकल चालक भारतको सुपौल, पञ्चायत फत्तेपुर वडा नं. १ का २१ वर्षीय दीपक कुमार पोदारलाई पक्राउ गरेको जनाएको छ । दुवै घटनामा पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।