विजयपुर । सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा अभद्र व्यवहार मुद्दाका धरान–५ निवासी विक्सन परियार, नारायण अधिकारी, सवारी अंगभंग मुद्दाका गणेश लावती, लागूऔषध मुद्दाका सुवास लिम्बु र चेक अनादर मुद्दाका दिलकुमार लिम्बु रहेका छन् । 

विक्सन परियारलाई सुनसरी जिल्ला अदालतले दुई छुट्टाछुट्टै अभद्र व्यवहार मुद्दामा क्रमशः ८ हजार रुपैयाँ जरिवाना तथा ६५ दिन कैद र ७ हजार रुपैयाँ जरिवाना तथा ४० दिन कैद सजाय सुनाएको थियो । सोही मुद्दामा धरान–५ का नारायण अधिकारीलाई १५० दिन कैद सजाय तोकिएको थियो । 

त्यस्तै, सवारी अंगभंग मुद्दामा धरान–५ का गणेश लावतीलाई २ हजार ५ सय रुपैयाँ, लागूऔषध मुद्दामा धरान–८ का सुवास लिम्बुलाई ८ सय ५० रुपैयाँ र चेक अनादर मुद्दामा धरान–१८ का दिलकुमार लिम्बुलाई ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो । 

अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक कारबाहीलाई पूर्णता दिने उद्देश्यले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।