भद्रपुर । मेचीनगर नगरपालिकाको न्यायिक समितिले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा सरिआएका ४१ वटा मुद्दाका कागजात गत भदौ २४ गतेको जेन जी आन्दोलनमा आगजनी भई नष्ट भएको जनाएको छ । गतवर्ष समितिमा निवेदकहरूले  विभिन्न विषयका विवादमा ३६ प्रकारका मुद्दा दर्ता गराएको उल्लेख छ ।

जसमा लेनदेन, जग्गा पास, जग्गा सिमाना, जग्गा रोक्का, अंश सम्बन्धी, निर्माणाधीन संरचना रोक्का, जग्गा किचोला, पारिश्रमिक सम्बन्धी, रकम लिई जग्गा पास नगरेको, व्यक्तिगत जग्गा अतिक्रम गरी नाला निर्माण गरेको, विवाह, जन्मदर्ता गराई पाऊँ, बाटो स्तरोन्नति तथा निर्माण, घरजग्गा विवाद, जग्गा फिर्ता, बसपार्क निर्माण, सहमति कार्यान्वयन गराई पाऊँ, भाडा रकम फुकुवा गराइपाऊँ र पारिवारिक समस्या रहेको नगरपालिका न्यायिक समितिकी अधिकृत इन्दिरा खरेलले बताइन् ।

यस्तै भोग कायम गराई पाऊँ, बाटो मिची ड्रेन बनाएको, बाटो साविकको स्थानमा कायम गराई पाऊँ, सामानको मूल्याङ्कन गराई पाऊँ, कारखाना सञ्चालन सम्बन्धी, जालसाज गरी जग्गा राजीनामा पास गरेको, जग्गा संरक्षण गरिपाऊँ, घर खाली गराई पाऊँ, जग्गा खाली गराई पाऊँ, एकलौटी बाटो बनाइएको, बोट, बिरुवा हटाई पाऊँ, विवाह दर्ता गराई पाऊँ, कुलो पैनी विवाद, सम्पत्तिको हक दिलाई पाऊँ, नाला खुलाई पाऊँ, नालामाथिको संरचना हटाई पाऊँ, ध्वनि प्रदूषण र वैदेशिक रोजगार सम्बन्धी लेनदेनहरू रहेको उनले जानकारी दिइन् ।

त्यसैगरीे आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका १ सय ९ वटा मुद्दामध्ये ४६ वटा मुद्दा फछ्र्याैट गरिएको खरेलले जानकारी दिइन् । समितिमा आएका ६३ वटा मुद्दा फछ्र्याैट हुन बाँकी रहेको खरेलको भनाइ छ ।

उनका अनुसार फछ्र्याैट भएका ४६ वटा मुद्दामा २० वटा अदालत तथा सम्बन्धित निकायमा उजुर गर्न सुनाइएको, १२ वटा तामेलीमा रहेको, ७ वटा सहमति भएको, ५ वटा मिलापत्र भएको, एउटा रोक्का आदेश भएको र एउटा भाडा रकम फुकुवा आदेश भएको छ ।
उनले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा सरिआएका ४१ वटा मुद्दाका कागजात भने गत भदौ २४ गतेको जेन जी आन्दोलनमा आगजनी भई नष्ट भएकोले त्यसको अभिलेख गर्न नसकिएको बताइन् ।

समितिले गत आर्थिक वर्षमा मेचीनगरका १५ वटै वडाका ८३ जना मेलमिलापकर्ताहरूलाई मेलमिलापसम्बन्धी पुनःताजगी तथा जग्गा नापजाँचसम्बन्धी तालिम, समुदायस्तरमा न्यायिक सचेतना र मेलमिलापसम्बन्धी अवधारणाको बारेमा, न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ज्येष्ठ नागरिक, मजदुर, विद्यार्थी तथा टोल विकास संस्थाका पदाधिकारीहरूलाई अभिमुखीकरण तथा कानूनी परामर्शसम्बन्धी कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।

न्यायिक समिति संयोजक एवम् नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गत आर्थिक वर्षमा दर्ता भएका १ सय ९ वटा मुद्दामा ४६ वटा मुद्दा फछ्र्याैट गर्दै गर्दा महिला मात्र होइन, पीडित भएका पुरुषहरूलाई पनि निष्पक्षरूपमा न्याय निरूपण गरिएको बताइन् । समितिमा सहमति हुन नसकेका केही मुद्दा जिल्ला अदालत पठाइएको जानकारी दिइन् ।

न्यायिक समिति सदस्यमा वडानम्बर ८ का वडासदस्य कुन्दन निरौला, २ का वडासदस्य हरिनारायण न्यौपाने, कानूनी सल्लाहकारमा इन्द्रकमल प्रधान रहेका छन् ।