धरान । उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित रहेको डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत भूवन पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । 

अख्तियारले स्टिङ अपरेसन गरी पौडेललाई नियन्त्रणमा लिएको हो । सामुदायिक वन उपभोक्ता समूहको काम सहज बनाइदिने भन्दै घूस मागेको पाइए पछि पीडित पक्षहरूले दिएको गोप्य सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन चलाएको थियो । सोही क्रममा उनलाई घूस रकमसहित नियन्त्रणमा लिएको हो । 

आयोगको इटहरीस्थित कार्यालयले पौडेललाई कार्यालय परिसरबाटै १५ हजार रुपैयाँसहित नगदसहित नियन्त्रणमा लिएको हो । उनी डिभिजन वन कार्यालयमा सातौँ तहका वन अधिकृत रहेको जनाइएको छ । उनी सूचना अधिकारीसमेत रहेका थिए । आयोगको टोलीले बिहीबार दिउँसो उनलाई करिब साढे चार बजेतिर नियन्त्रणमा लिएको थियो । उनले वन समूहका टोलीलाई काम मिलाइदिने भन्दै रकम लिने गरेको  जनाइएको छ । 

जिल्ला डिभिजन वन कार्यालय उदयपुरका डिएफओ गजेन्द्रबहादुर श्रेष्ठले सुनाखरी सामुदायिक वन समूहको फाइलमा घूस मागेको विषयलाई लिएर पक्राउ गरिएको बताए । उनका अनुसार वन अधिकृत पौडेलले आयोगबाट आएका अधिकारीहरूलाई आफूले रकम नमागेको बताएका थिए ।

पक्राउ पर्ने पौडेल योजना शाखामा १५ दिनअगावै मात्र सरुवा भएको र उनलाई उक्त विषयमा थाहा नभएको हुनसक्ने उनले बताए । उक्त सावउको फाइल प्रतिवेदन पनि बिहीबारै आएको उनले जानकारी दिए । 

अख्तियारले कुन सामुदायिक वन उपभोक्ता समूहसँग काम मिलाइने भनेका थिए भन्ने विषयमा अख्तियारले सार्वजनिक गरेको छैन । अख्तियारको केन्द्रीय कार्यालयको वेबसाइटमा पक्राउ परेको जानकारी दिइएको छ ।

वन कार्यालयका कर्मचारीहरूले सेवाग्राहीबाट विभिन्न बहानामा रकम लिँदै आएको जनाइएको छ । उनले उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीबाट घूस रकम लिएको जनाइएको छ ।

अख्तियारले उनलाई शुक्रबार विशेष अदालतको आदेशअनुसार भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् । 

यस्तै झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजयकुमार साहलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । उनले सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीलाई दुःख तथा हैरानी दिई घूस लिने गरेको सूचना तथा उजुरीका आधारमा इटहरीस्थित कार्यालयले उनलाई घूस रकमसहित नियन्त्रणमा लिएको हो । उनले सेवाग्राहीबाट लिएको १० हजार रुपैयाँ घूससहित पक्राउ गरिएको छ । 

उनले सम्बन्ध विच्छेद दर्ता प्रमाण–पत्र नियमानमुसार कानूनी रीत पु¥याई उपलब्ध गराउनुपर्नेमा आफ्नो पद तथा अधिकारीको दुरुपयोग गरी ढिलासुस्ती गर्ने र दर्ता सहजीकरण गर्ने जस्ता कार्य गरेको पाइएको अख्तियारले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगोबमोजिम जरिबाना सजाय माग दाबी लिई शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।