विजयपुर । बैंक तथा वित्तीय संस्थाबाट फोन गरेको भन्दै ‘नो योर कस्टुमर’ (केवाइसी) अद्यावधिक गर्नुपर्ने बहाना बनाई ग्राहक तथा सेवाबाट निवृत्त कर्मचारीलाई ठगी गर्ने समूहका चार जना पक्राउ परेका छन् ।


नेपाल प्रहरी साइबर ब्युरोका अनुसार पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका–१७ का २२ वर्षीय विद्या सागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २९ वर्षीय कुबेर थापा रहेका छन्।


प्रहरीका अनुसार उनीहरूले बैंकबाट फोन गरेको भन्दै पीडितलाई केवाइसी अद्यावधिक गर्नुपर्ने बताउने गरेका थिए। त्यसपछि फोन वा ह्वाट्सएपमार्फत मोबाइलको पर्दा (स्क्रिन) साझा गर्न लगाउने तथा एकपटक प्रयोग हुने सुरक्षा संकेत (ओटीपी) प्राप्त गर्ने वा माग्ने गरेका थिए।  ओटीपी हात पारेपछि पीडितको बैंक खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गरी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको साइबर ब्युरोले जनाएको छ।


पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमबाट ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, साइबर ब्युरोले बैंक तथा वित्तीय संस्थाको नाममा आउने शंकास्पद फोन, ह्वाट्सएप सन्देश वा केवाइसी अद्यावधिकसम्बन्धी अनुरोधप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।


ब्युरोले ओटीपी, पासवर्ड, एटीएम/डेबिट–क्रेडिट कार्डसम्बन्धी विवरण तथा अन्य बैंकिङ जानकारी कसैलाई पनि नदिन आग्रह गरेको छ। अपरिचित व्यक्तिको आग्रहमा मोबाइलको पर्दा साझा नगर्न, शंकास्पद लिङ्क नखोल्न तथा बैंक खातासम्बन्धी संवेदनशील जानकारी उपलब्ध नगराउन पनि प्रहरीले सचेत गराएको छ।