भेनेजुएला । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आठ दिनसम्म भग्नावशेषमुनि पुरिएका ४३ वर्षीय हेर्नान गिलको सकुशल उद्धार गरिएको छ। शरीरमा पानीको कमी र मानसिक असरको आशंकामा उनलाई तत्काल अस्पताल भर्ना गरिएको छ।

जुन २४ मा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले राजधानी काराकाससहितका क्षेत्र ध्वस्त बनाएका थिए। काटिया ला मारस्थित साततले भवन भत्किँदा सुरक्षा गार्ड रहेका गिल भग्नावशेषमा पुरिएका थिए।

भेनेजुएला, चिली, अमेरिका, पोर्चुगल, कोस्टारिका, एल साल्भाडोर र मेक्सिकोका उद्धार टोलीले तीन दिनको निरन्तर प्रयासपछि सुरुङ खनेर उनको उद्धार गरेका हुन्। उद्धारका क्रममा पाइपमार्फत पानी र अक्सिजन उपलब्ध गराइएको थियो।

अहिलेसम्म भूकम्पमा परी दुई हजार ३०० जनाको मृत्यु, ११ हजारभन्दा बढी घाइते र १३ हजार मानिस घरबारविहीन भएका छन्। ठूलो सङ्ख्यामा मानिस अझै बेपत्ता छन्। विश्व खाद्य कार्यक्रमले पाँच लाख प्रभावितका लागि तीन महिनाको राहत उपलब्ध गराउन पाँच करोड अमेरिकी डलर सहयोगको अपिल गरेको छ। रासस