विराटनगर । मुहर्रम पर्व मनाउने क्रममा नक्कली हतियार प्रदर्शन गरी समाजमा त्रास फैलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका –९ का २३ वर्षीय मो. इजराईल रहेका छन् ।
असार १२ गते मुस्लिम समुदायले मुहर्रम पर्व मनाउने क्रममा इजराईलले नक्कली हतियार बोकेर हिँडेको र सर्वसाधारणलाई त्रसित बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उक्त भिडियोको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका प्रहरी एकाइले खोजी सुरु गरेका थिए । प्रहरीले उनलाई सोमबार राति आफ्नै घरबाट उक्त नक्कली हतियारसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका इजराईलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवम् डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।