झापा । झापामा मकै उत्पादनमा ह्रास आएको छ ।
कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कअनुसार विगत तीन वर्षको तुलनामा मकै खेतीको उत्पादनमा यस वर्ष ह्रास आएको हो । जिल्लामा गत वर्षको तुलनामा ६८ हजार मेट्रिक टन मकैको उत्पादन घटेको हो । चालु आव २०८२/८३ मा दुई लाख ८३ हजार १ सय ८७ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । उनका अनुसार झापामा ४६ हजार १ सय २५ हेक्टर जमिनमा किसानले मकै खेती लगाएका छन् ।
उनले गत फागुनको अन्तिम साता र चैतको पहिलो साता आएको हुरीबताससहितको असिनापानीले ठूलो क्षति गर्दा मकैको उत्पादन घटेको बताए । “बाह्रदशी, झापा र गौरादहतिरका किसान ठूलो मारमा परेका छन्”, उनले भने, “कुल क्षेत्रफलको करिब नौ हजार हेक्टर जमिनको मकै असिनापानी र हुरीले सखाप पार्दा डेढ अर्बको क्षति भयो ।”
झापामा मकैको प्रतिहेक्टर उत्पादकत्वमा भने वर्षैँपिच्छे सामान्य वृद्धि भइरहेको सुखद तथ्याङ्क छ । आव २०८०/८१ मा प्रतिहेक्टर ७.८७ मेट्रिक टन उत्पादकत्व रहेकामा आव २०८१/८२ मा बढेर ७.८८ र आव २०८२/८३ मा ७.८ मेट्रिक टन पुगेको छ । यसले जिल्लामा आधुनिक कृषि प्रविधि वा उन्नत बीउको प्रयोगका कारण माटोको उत्पादक क्षमता राम्रो रहेको सङ्केत गर्छ ।
उत्पादकत्व बढे पनि मकैको कुल उत्पादन र उत्पादनशील क्षेत्रफलमा भने पछिल्लो वर्ष अनपेक्षित गिरावट आएको छ । आव २०८०/८१ मा ४४ हजार ३५ हेक्टर क्षेत्रफलमा मकै खेती भई तीन लाख चार हजार ३५ मेट्रिक टन उत्पादन भएको थियो । आव २०८१/८२ मा क्षेत्रफल सामान्य बढेर ४४ हजार ६२ हेक्टर पुग्दा कुल उत्पादन पनि बढेर तीन लाख ५१ हजार ४ सय २६ मेट्रिक टन पुगेको थियो । तर आव २०८२/८३ मा मकैको कुल क्षेत्रफल ४६ हजार १ सय २५ हेक्टर रहे पनि वास्तविक उत्पादनशील क्षेत्रफल घटेर ३५ हजार ८ सय ९२ हेक्टरमा सीमित हुन पुग्यो ।
उनले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सङ्घीय र प्रदेशको कृषि मन्त्रालयमा क्षतिपूर्तिका लागि आवश्यक सामग्री पठाइसकिए पनि बजेट भने हालसम्म नआएको बताए । रासस