धरानका ५७ वर्षीय मोहनबहादुर राईलाई आफ्नो थातथलो सङ्खुवासभाको सिलिचोङ गाउँपालिका छाड्ने मन थिएन । जन्मिएको, हुर्किएको र जीवनका अनगिन्ती सम्झना गाँसिएको गाउँमै जीवन बिताउने चाहना थियो । तर गरिबी, अभाव र बेरोजगारीले सपना पूरा हुन दिएन । गाउँ नै छाड्न बाध्य बनायो । 

दशकयता राईको परिवार धरान–१५ स्थित देउराली पथमा बसोबास गर्दै आएको छ । दुई छोराछोरी घरनजिकैको विद्यालयमा पढ्छन् । राई दम्पती पुरानो बजारमा पसल सञ्चालन गर्छन् । गुजारा सहजै चलिरहेको भए पनि गाउँ छाड्दाको पीडा अझै उनको मनमा छ । कतारमा १८ वर्षसम्म पसिना बगाएर कमाएको रकमले धरानमा जग्गा किनेर घर बसाएको उनी सुनाउँछन् । 

“गाउँमा सडक थिएन, राम्रो विद्यालय थिएन, स्वास्थ्य सेवाको पहुँच पनि थिएन” उनी विगत सम्झिँदै भन्छन्, “मैले भोगेको दुःख मेरा छोराछोरीले भोग्न नपरोस् भन्ने सोचले गाउँ छाडेँ ।” गाउँको पुख्र्यौली जग्गा अझै बेचिएको छैन, तर जीवनको नयाँ अध्याय भने उनले धरानमै लेखिरहेका छन् । 

ताप्लेजुङ सिरिजङ्घाका रामबहादुर राईको परिवार धरान झरेको जम्मा ६ महिना भएको छ । तर यो बसाइँसराइ रहरले होइन, नियतिले बाध्य बनाएर गराएको हो । वर्षौंदेखि जोगाएर राखेको घरबारीमाथि पहिरो खस्न थालेपछि गाउँमा बस्ने आधार नै हराएको उनी बताउँछन् । पहिरोले उनको गाउँ मात्र लगेन । आफन्त पनि गुमाउनुप¥यो । त्यो पीडा सम्झँदा आज पनि उनको स्वर भारी हुन्छ । “गाउँमा धेरै दुःख पाइयो” उनी भन्छन्, “सुरक्षित ठाउँ खोज्दै यहाँ आएका हौँ ।”

आफ्नो नाममा भएको थोरै जमिन पनि त्यसै छाडेर झरेको उनको परिवार अहिले धरान–१७ रेल–वेमा एउटा भाडाको घरमा बस्दै आएको छ । नयाँ ठाउँमा जीवन शून्यबाट सुरु गर्नुपरे पनि कम्तीमा ढुक्कसँग निदाउन पाएकोमा उनी सन्तुष्ट छन् । “यहाँ त जति ठूलो पानी परे पनि पहिरोले त लाँदैन” उनी भन्छन्, “पेट त जसरी पनि पालिहालिन्छ नि ।” 

जीवन धान्न उनले एउटा किराना पसलमा काम थालेका छन् भने जेठो छोराले गाडीको शोरुममा  । छोरी कक्षा ११ मा अध्ययनरत छिन् । परिवार फेरि नयाँ सपना बुन्ने प्रयासमा छ । गाउँमा सडक, स्वास्थ्य तथा शिक्षाको समेत सुविधा नभएको र पहिरो गइरहने भएकाले घरबारी बिक्री नभएको राईको भनाइ छ । यी त प्रतिनिधिपात्र मात्रै हुन्, कैयौँ परिवार बसाइँ सरेर पहाडी जिल्लाहरूबाट पहाडी जिल्लाहरूको गेट–वे धरान झरेका छन् । झर्ने क्रम जारी छ । सडक, शिक्षा, स्वास्थ्य तथा बजार पहुँचका कारण ग्रामीण क्षेत्रका नागरिक धरानलाई अवसरको सहरका रूपमा हेर्छन् । 

विभिन्न जनगणनाका तथ्याङ्कहरू केलाउँदा वि.सं.२०३० को दशकपछि पूर्वी पहाडबाट तराईतिर झर्ने क्रम बढेको देखिन्छ । २०५२ सालमा माओवादी जनयुक्त सुरु भएपछि यो क्रम तीव्र बनेको पाइन्छ । धरान उपमहानगरपालिकामा २०७५ सालयता सात वर्षको अवधिमा १४ हजार ४ सय ७५ परिवारका ३७ हजार ९ सय ९८ जन बसाइँ सरेर आएका छन् । आउनेहरूमध्ये ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, खोटाङलगायत जिल्लाका धरै छन् । सोही अवधिमा आउनेभन्दा झण्डै आधा मानिसले धरान छाडेका छन् । यसरी विभिन्न सहरी क्षेत्रमा बसाइँ सरेर जानेहरू ८ हजार ४ सय ३४ परिवारका २० हजार ५ सय २८ जना रहेका छन् । 

कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रबाट बसाइँ सर्नेहरूको प्रमुख गन्तव्यका रूपमा सुनसरी, मोरङ र झापाका सहरी क्षेत्र अग्रणी छन् । त्यसमा पनि धरान प्रदेशकै बसाइँसराइको मुख्य गन्तव्य बनेको पछिल्लो जनगणनाको तथ्याङ्कले देखाएको छ । यसरी बसाइँसराइको चाप बढेका कारण २०६८ सालमा १ लाख ३६ हजार ७ सय ५ रहेको धरानको जनसङ्ख्या २०७८ सालमा १ लाख ६६ हजार ५ सय ३१ पुगेको छ । 

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका जनसङ्ख्या विषयका प्राध्यापक अञ्जना जोशी सुविधाकै खोजीमा मानिसहरू बसाइँ सर्ने गरेको बताउँछिन् । “धरान विकासका पूर्वाधारमा निकै अगाडि छ । त्यसैले पहाडी जिल्लाबाट शिक्षा, स्वास्थ्य र रोजगारीका लागि मानिस बसाइँ सरेर यहाँ आउने गरेका छन्” उनी भन्छिन्, “धरानमै लामो समयदेखि बसोबास गर्दै आएकाहरू गर्मी तथा यहाँभन्दा राम्रो सेवासुविधा खोज्दै काठमाडौँ र विदेशतिर जाने ट्रेन्ड छ ।” जानेहरूमध्ये अधिकांशको गन्तव्यस्थल काठमाडौँ र बेलायत, हङ्कङलगायत देश बनेका छन् । उनीहरू धरानभन्दा राम्रो सेवा सुविधाको खोजीमा बाहिरिएका हुन् ।   

धरान–१५ पिण्डेश्वरी चौकबाट इन्दिरा चाम्लिङ राई काठमाडौँ बसाइँ सरेको दुई दशक भइसक्यो । उनले दुई तले घर र जग्गा २ करोड ५० लाख रुपैयाँमा बिक्री गरेर धरान छाडेकी थिइन्  । श्रीमान् ब्रिटिस लाहुरेबाट रिटायर्ड भएपछि उनको परिवार काठमाडौँ सरेको थियो । चिसो हावापानी र व्यवसाय र रोजगारीको अवसर बढी हुने भएकाले काठमाडौँ रोजाइमा परेको उनी सुनाउँछिन् । “धरानमा भन्दा काठमाडौँमा भविष्य राम्रो देखेर सरेका थियौँ” उनी भन्छिन्, “हरेक हिसाबले त्यहाँ अवसर बढी छन् ।”

धरानकै ४७ वर्षीय रत्न बस्नेत पनि काठमाडौँमा बसोबास गर्दै आएका छन् । छोराछोरीको पढाइकै लागि आफूले धरान छोडेको उनको भनाइ छ । “पहिलो त छोराछोरीले रोजेको विषय अध्ययन गर्न प्रशस्तै कलेज भएकाले पनि काठमाडौँ बसाइँ सर्नुपरेको हो” उनी भन्छन्, “धरानमा खानेपानीको अभाव र गर्मी अत्यधिक हुनु पनि सहायक कारण हुन् ।” धरान उपमहानगरपालिकाको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै बसाइँसराइ हुने वडा धरान–१५ रहेको छ । अरू वडाभन्दा यस वडामा बसाइँ सरेर आउने पनि बढी र जाने पनि बढी पाइएको छ । २०७५ सालदेखि २०८२ सालबीचमा यस वडामा २ हजार ३ सय ४३ परिवारका ६ हजार ३ सय ८४ जना बसाइँ सरेर आए भने सोही अवधिमा ९ सय २७ परिवारका २ हजार ६४ जना अन्य स्थानमा गएका छन् । 

वडाध्यक्ष नरेशकुमार इवारमका अनुसार विगतमा धरानको सामाजिक तथा आर्थिक गतिविधिको प्रमुख हिस्सा रहेका भूपू गोर्खा परिवारमध्ये अधिकांश विदेश बसाइँ सरेका छन् । बेलायत सरकारले भूपू गोर्खा सैनिक र तिनका परिवारलाई स्थायी बसोबासको अधिकार दिने नीति ल्याएपछि उनीहरू त्यतातर्फ गएका हुन् । यकिन तथ्याङ्क नभए पनि अहिले धरानमा लाहुरे परिवारको उपस्थिति १० देखि १२ प्रतिशतमा सीमित रहेको उनको भनाइ छ । 

महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही बालबच्चा राम्रो स्कुलमा पढाउने अभिभावकको सोच भएकै कारण राम्रो शिक्षाको खोजीमा धरानबाट काठमाडौँ उपत्यका बसाइँ सर्ने गरेको बताउँछन् । भूपू गोर्खा परिवारको विदेश पलायन, उच्च शिक्षा र रोजगारीका लागि राजधानी केन्द्रित प्रवृत्ति, सरकारी कार्यालयको स्थानान्तरण जस्ता कारण धरानबाट वाह्य बसाइँसराइ हुने गरेको उनको भनाइ छ । 

प्रकृति र संस्कृतिको सङ्गम
महाभारतकालीन इतिहास बोकेको विजयपुर धरानको शिर हो । अहिले सहर रहेको स्थानमा सुरुमा घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालहरूले तयार गर्ने गरेको ‘धरान’ बाट नै धरान सहरको नामकरण भएको किंवदन्ती छ । वि.सं.१९५० सालतिर सानो बस्तीबाट सुरुवात भएको धरानमा १९५९ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र १९९० सालतिर जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ ।

२०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भएपछि पूर्वी पहाडका राई, लिम्बूलगायत समुदायका युवा धरान आउन थाले । मुख्य रूपमा धरानमा बसोबास तथा चहलपहल त्यसपछि नै बढ्न थालेको हो । भर्तीमा सफल भएका तथा अवकाशप्राप्त गोर्खा सैनिकले धरानलाई स्थायी बसोबासको केन्द्र बनाएपछि धरान ‘लाहुरेको सहर’ भनेर चिनिन थाल्यो ।

२०१७ सालमा धरान नगरपालिका तथा २०१८ सालमा कोशी अञ्चलको सदरमुकाम घोषणा गरिएको थियो । २०७१ मङ्सिरमा उपमहानगरपालिका घोषित भएको धरान विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्यातिप्राप्त छ । शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास भइरहेको छ ।  

पहाडी जिल्लाको मुख्य प्रवेशद्वार भएको, पहाडी भूभागको फेदमा रहेको सफा, सुन्दर र लाहुरेहरूको सहरले चिनिने भएकाले पनि धरान बसाइँसराइको गन्तव्य बनेको प्रा. डा. टङ्क  न्यौपाने बताउँछन् । साथै, बूढासुब्बा, पञ्चकन्या, पिण्डेश्वर बाबाधाम जस्ता मठमन्दिरले प्रख्यात भएकाले पनि धरानमा बसाइँ सरेर आउनेको आकर्षण बढेको उनको भनाइ छ । “बढ्दो बसाइँसराइले धरानजस्ता गन्तव्यस्थानमा अव्यवस्थित बसोबास बढ्ने भए पनि समग्रमा सकारात्मक प्रभाव पर्छ” प्रा.डा. न्यौपाने भन्छन्, “दक्ष जनशक्तिको उपलब्धता हुन्छ । सांस्कृतिक अन्तरघुलन हुन्छ । यसले यहाँको आर्थिक र सामाजिक विकासमा फाइदा पुग्छ ।” 

केही वर्षयता धरानबाट धनकुटाको मूलघाट, पाँचथर हुँदै तमोर नदीको किनारैकिनार तमोर करिडोर सञ्चालनमा आएपछि धरान झन् आकर्षणको केन्द्र बनेको छ । पहिले इटहरी, दमक, बिर्तामोड, इलाम हुँदै पाँचथर, तेह्रथुम र ताप्लेजुङ जानेहरू अहिले धरानबाट तमोर करिडोर प्रयोग गर्न थालेका छन् । “अहिले धरान पूर्वी पहाडकै केन्द्र बन्यो नि, धरानबाट पहाडका जुन जिल्ला जान पनि छोटो बाटो खुलेको छ” ताप्लेजुङका स्थानीय व्यवसायी गङ्गाराम गुरागाईं भन्छन्, “मैले १० वर्षअघि झापाको बिर्तामोडमा किनेको जग्गा बेचेर यसपालि धरानमा पाँच कठ्ठा माटो किनेँ ।” अहिले ताप्लेजुङबाट ६ घण्टामै धरान झर्न सकिने भएको उनी बताउँछन् ।  

धरान पहाड र तराईबीचको सुविधा सम्पन्न सहर बन्दै गएकाले यहाँ बसाइँसराइको चाप बढेको धरानका मजदुर नेता भीम ज्वाला राईको भनाइ छ । उनका अनुसार अहिले प्रवासिने र ग्रामीण जीवनबाट उन्मुक्ति चाहने युवाहरूको बढ्दो जमात छ । त्यसैले पहाडी जिल्लाबाट परदेश जानेको सङ्ख्या बढेसँगै घरपरिवारलाई उच्चशिक्षा, स्वास्थ्य र सुरक्षित राख्नका लागि धरान झार्ने चलन छ । ती विदेश भएका युवा पनि फर्केपछि धरानकै सेवा सुविधा उपयुक्त लागेकाले यहाँ बसाइँ सरेर आउने गरेको राईको भनाइ छ । 

“धरानमा बसेर व्यापार व्यवसाय र रोजगारी गर्न तराईका जिल्ला नजिक भएको, इटहरी र विराटनगर जस्ता ठूला सहर नजिकै भएको तथा त्यहाँभन्दा गर्मी कम हुने भएकाले पनि धरानमा पहाडी क्षेत्रबाट बसाइँ सरेर आउनेको सङ्ख्या बढेको हो”–उनी भन्छन् । अर्कातिर हिमाली र पहाडी क्षेत्रको जनसङ्ख्या भने निरन्तर घट्दो क्रममा छ । दशकयता समग्र जनसङ्ख्या वार्षिक औसत ०.९३  का दरले बढ्दा हिमाली क्षेत्रमा ऋणात्मक (–०.०२ प्रतिशत), पहाडी क्षेत्रमा न्यून धनात्मक (०.२९प्रतिशत) र तराई क्षेत्रमा उच्च धनात्मक (१.५६ प्रतिशत) छ ।

यसले पहाडीभेग मानवविहीन क्षेत्रका रूपमा परिणत हुने खतरा बढेको छ । राष्ट्रिय वाणिज्य बैङ्कको विराटनगर कार्यालयले २०७९ मङ्सिरमा सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले बसाइँसराइका कारण पहाडको उर्वर भूमि बाँझिएको र तराईमा भूमि खण्डीकरण बढेको उल्लेख गर्दै यसलाई चुनौतीका रूपमा औँल्याएको थियो ।  धरान उपमहानगरपालिकाले बढ्दो जनसङ्ख्याको चापलाई मध्यनजर गर्दै रोजगारी सिर्जना गर्ने उद्योग, सूचना प्रविधि, पर्यटन तथा उद्यमशीलता विकासका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य लिएको छ ।  

उपमहानगरका कार्यवाहक नगर  प्रमुख आइन्द्रविक्रम बेघा धरानलाई सबै हिसाबले आकर्षक सहरका रूपमा विकास गर्ने बताउँछन् । “खानेपानी समस्याको स्थायी समाधान, सडक, ढल, सरसफाइ, स्वास्थ्य र शिक्षाजस्ता सेवाको गुणस्तर सुधार गर्दै धरानलाई बस्न, लगानी गर्न र व्यवसाय सञ्चालन गर्न आकर्षक सहरका रूपमा विकास गर्ने योजना छ” उनी भन्छन्, “स्थानीय रोजगारी सिर्जना गरी युवालक्षित सीप विकास तथा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौँ ।” 

जनसङ्ख्याको उचित व्यवस्थान गरी सन्तुलित विकास गर्ने विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । बजेट तथा योजना रोजगारीमूलक कार्यक्रममा केन्द्रित गर्ने र स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासका लागि सङ्घीय सरकारसँग समन्वय गरेर ठोस काम अघि बढाउने प्रदेश सरकारको योजना छ । बजारको मागबमोजिम क्षमतावान् श्रमशक्तिको विकास गर्ने प्रदेश सरकारको दोस्रो आवधिक योजनाको रणनीति रहेको छ ।  

 (यो आलेख कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको लेखनवृत्ति कार्यक्रमअन्तर्गत तयार पारिएको हो । –सं.)

2drn pic