इटहरी । कुनै पनि उद्योग वा उद्योगसँग सम्बन्धित कार्य गर्नुअघि गरिने वातावरणीय अध्ययनविनै सुनसरीको इटहरीमा एउटा उद्योगलाई नगरले अनुमति दिएपश्चात् स्थानीयले खारेज गनुपर्ने भन्दै निवेदन दिएका छन् ।
इटहरी–३ त्रिवेणी चोकमा बालुवा प्रशोधन केन्द्र सञ्चालनका लागि नगरले अनुमति दिएपछि आदर्श टोलवासीले हस्ताक्षर गर्दै असार ५ गते निवेदन दिएका हुन् । यता नगरले प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) भइसकेको दाबी गरेको छ । नगरका वातावरण शाखा प्रमुख इन्जिनियर पुष्पलाल चौधरी भन्छन्, “उद्योगको क्यापासिटी अनुसार प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरिएको छ, त्यसपश्चात् नगरले स्वीकृति दिएको हो ।”
उद्योग चलाउनुअघि वातावरणमा पर्ने प्रभावका बारेमा सम्बन्धित उद्योगले कन्सल्टेन्ट राखेर अध्ययन गर्नुपर्ने प्रावधान छ । कन्सल्टेन्टले नगरले बनाएको वातावरणीय कार्यविधिअनुसार कार्य क्षेत्रगत शर्त (टीओआर) बुझाउनुपर्ने प्रावधान छ । नगरले आईईई गरेको दाबी गरे पनि यसबारे स्थानीय बेखबर छन् । स्थानीय देवराज पुरी, कमला कार्की, खगेन्द्र कार्कीलगायतले असार ५ गते दिएको निवेदनले नै उक्त कुरा पुष्टि गरेको छ । जसमा चार जनाले हस्ताक्षर गरेका छन् ।
आदर्श टोलकी कमला कार्कीले आफ्नो घरनजिकै प्रशोधन केन्द्र निर्माण भइरहे पनि त्यसबारे कुनै औपचारिक जानकारी वा परामर्श नभएको बताइन् । स्थानीयलाई यसबारे औपचारिक रूपमा जानकारी नभएको उनको भनाइ छ । “भोलि यसबाट असर परे के गर्ने भन्ने चिन्ता छ । त्यसैले सम्बन्धित निकायले स्थानीयसँग स्पष्ट जानकारी दिनुपर्छ भन्ने हाम्रो माग हो”–उनले भनिन् ।
स्थानीयका अनुसार उद्योग बस्तीको बीचमा पर्छ । वातावरणसँग जोडिएको विषयमा कुनै पनि आयोजना सुरु गर्नुपूर्व स्थानीयसँग छलफल गर्नुपर्ने वातावरण संरक्षण ऐन २०७६ को परिच्छेद २ को दफा १ मा स्पष्ट व्यवस्था छ । उक्त उद्योग त्रिवेणी बूढासुब्बा मल्टिपर्पोज प्रा.लि.ले सञ्चानलमा ल्याइरहेको हो । तर, वातावरण शाखाका अधिकृत इन्जिनियर चौधरीले नगरमा बृहत् छलफलपश्चात् वातावरणीय कार्यविधि बनाएरै काम गरिएको बताए ।
३ नम्बरका वडाध्यक्ष उमेश सुवेदीले उद्योग स्थापना गर्ने विषयको छलफलमा आफूलाई एक घण्टाअघि जानकारी गराई आफू आइपुग्दा स्थानीयवासी कोही नदेखेको बताए । उनले भने, “तीन महिना अगाडिको कुरा हो । म विराटनगरमा थिएँ, एक घण्टाअगाडि फोन गरे । म आइपुग्दा पब्लिक कोही थिएनन् । त्यो भएपछि मैले आपत्ति जाहेर गरेँ । राजनीतिक दल, टिएलओहरूलाई बोलाएँ, उहाँहरूले सहमति जनाउनुभएन । १७–१८ जनाले सही गरेका थिए ।”
उनले जनताको सहभागिता कम देखेपछि पुनः छलफल हुनुपर्छ भन्ने अडान राखेको बताए । उनले भने, “दोस्रो पटक राखेको थाहा छैन । मेयरले अनुमति दिएछन् भन्ने सुनेको हुँ । मलाई आधिकारिक लेटर आएको छैन ।” उनका अनुसार मेसिन खडा नगरे पनि बनाउने तरखर गरेको देखिएको छ । यता वातावरण शाखा अधिकृत चौधरीले प्रक्रिया पु¥याएरै काम गरिएको बताए । उनले भने, “स्थानीय पत्रिकामा १५ दिनको सूचना निकालिएको छ । सम्बन्धित वडामा समेत टाँस गरिएको छ । सार्वजनिक सुनुवाइ भएको छ । पुनः ७ दिनको सूचना निकालेर वडामा पनि टाँस गरिएको छ; सबै कुरा प्रक्रिया पु¥याएरै गरिएको छ ।”
इटहरी नगर प्रवक्ता दिवस पोखरलेले आफूलाई विस्तृत विवरण केही पनि थाहा नभएको बताउँदै भने, “वातावरणीय परीक्षण भएको भन्ने सुनेको हो । यसबारे वातावरण शाखाका इन्जिनियरलाई सोध्नुहोस् ।”