विजयपुर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागू औषधसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको साथबाट ४४ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगर, ६२ किलोग्राम गाँजा, ट्रामोल ९ सय ४ क्याप्सुल, कोलिभान १ हजार २ सय ६६ क्याप्सुल, नगद १३ हजार २ सय ६० रुपैयाँ, चार वटा मोटरसाइकल र दुई वटा अटो बरामद गरिएको छ ।


झापामा इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले अर्जुनधारा नगरपालिका–५ का भरत मोहरालाई १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, १३ हजार २ सय ६० रुपैयाँ तथा टेम्पोसहित पक्राउ गरेको छ । त्यस्तै, कमल गाउँपालिका र हल्दिबारी गाउँपालिकाका तीन जनालाई ७ ग्राम ५४० मिलिग्राम ब्राउन सुगरसहित मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले इलामका रनधिर प्रधान तथा बिर्तामोडका सुनिल पासवान र उदय पासवानलाई समेत ब्राउन सुगरसहित पक्राउ गरेको छ । मोरङमा इलाका प्रहरी कार्यालय रानी तथा लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगरका अरमान मियाँ र लेटाङका दुई जनालाई ५ ग्रामभन्दा बढी ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।


सुनसरीमा इलाका प्रहरी कार्यालय पकलीले रामधुनीका शिशिर गुरागाईं र इटहरीका बिमल लम्साललाई १ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु तथा मोटरसाइकलसहित पक्राउ गरेको छ । साथै इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बराहक्षेत्र र बेलका क्षेत्रका ६ जनालाई २६ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगर, दुई मोटरसाइकल र एक अटोसहित नियन्त्रणमा लिएको जनाएको छ ।


यसैबीच, प्रहरी चौकी मधुवनले बराहक्षेत्र नगरपालिका–११ मा बेवारिसे अवस्थामा राखिएको ६२ किलोग्राम गाँजा बरामद गरेको छ । उता, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले धरान–९ मा डेरा गरी बस्ने फुर्मा गुरुङलाई ट्रामोल ९ सय ४ क्याप्सुल र कोलिभान १ हजार २ सय ६६ क्याप्सुलसहित पक्राउ गरेको छ । पक्राउ परेका सबैमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।