विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा फैलिएको बर्डफ्लु सङ्क्रमणका कारण व्यावसायिक पोल्ट्री क्षेत्रमा ठूलो धक्का लागेको छ ।
मोरङ, सुनसरी र झापामा गरी दुई महिनाको अवधिमा ४ लाखभन्दा बढी कुखुरा नष्ट गरिएको छ भने ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी विकास महाशाखाकी वरिष्ठ पशु चिकित्सक एवम् फोकल पर्सन डा. दीपा दिवालीका अनुसार गत चैतदेखि सुरु भएको सङ्क्रमण झन्डै दुई महिनासम्म कायम रहँदा उक्त बराबरको नोक्सानी भएको हो । मन्त्रालयले क्षतिको विस्तृत विवरण सङ्कलन गरी राहतको लागि सङ्घीय सरकारलाई सिफारिस गरिसकेको छ ।
पशु विकास निर्देशनालयको तथ्याङ्कअनुसार तीन जिल्लामा गरी कुल ४ लाख १२ हजार ९ सय ५४ वटा कुखुरा तथा पन्छी नष्ट गरिएको छ । सङ्क्रमणको सबैभन्दा ठूलो मार सुनसरीका किसानले व्यहोरेका छन् । सुनसरीमा मात्रै २ लाख ८६ हजार ९ सय २१ वटा कुखुरा नष्ट गरिएको छ । यस्तै ३ लाख ७७ हजार ८० वटा अण्डा, १ लाख २१ हजार ७ सय ७५ किलो दाना, २ लाख २ हजार ७ सयवटा अण्डा राख्ने क्रेट र ३७ हजार ८ सय ४० वटा कार्टुन नष्ट गरिएको छ । सुनसरीमा मात्रै किसानको २९ करोड २३ लाख ९३ हजार १ सय ८५ रुपैयाँ बराबरको लगानी डुबेको छ ।
सङ्क्रमणको सुरुवात भएको मोरङमा १ लाख २ हजार ९ सय ४३ कुखुरा मारिएका छन् । यहाँ १ लाख २७ हजार ६ सय २५ वटा अण्डा, २४ हजार ८ सय ३८ किलो दाना, ८४ हजार ९ सय क्रेट र १ हजार २ सय ५० वटा कार्टुन नष्ट गर्दा १७ करोड ७२ लाख ३ हजार ७ सय ११ रुपैयाँ क्षति भएको छ । झापामा भने २३ हजार ९० वटा कुखुरा नष्ट गरिएको छ ।
९७ हजार ४ सय ५० वटा अण्डा, १० हजार ४ सय ६५ किलो दाना र अन्य सामग्री नष्ट गर्दा झापामा ३ करोड ३४ लाख २३ हजार ५ सय ३५ रुपैयाँको नोक्सानी भएको निर्देशनालयले जनाएको छ । समग्रमा तीन जिल्लामा पोल्ट्री व्यवसायीले ५० करोड ३० लाख २० हजार ४३१ रुपैयाँ बराबरको प्रत्यक्ष क्षति व्यहोर्नु परेको छ ।
ऋणमा डुबे किसान, राहतको पर्खाइ
मोरङको सुन्दरहरैंचा–४ स्थित हलेसी महादेव कृषि फार्ममा गत चैत ३ गते अचानक कुखुरा मर्न थालेपछि बर्डफ्लु पुष्टि भएको थियो । लगत्तै चैत ४ गते उर्लाबारी–८ को अर्को फार्ममा पनि सङ्क्रमण देखिएपछि यो रोगले उग्ररूप लिएको थियो । नेपालमा पहिलो पटक २०६५ साल माघमा झापाको काँकडभिट्टाबाट भित्रिएको यो रोग यस वर्ष भने निकै भयावह बनेको कृषकहरू बताउँछन् ।
पोल्ट्री उद्योगमा अर्बौंको लगानी र हजारौँको रोजगारी जोडिएको अवस्थामा सङ्क्रमणले व्यवसायीलाई सडकमा पु¥याउने जोखिम बढेको छ । “बैङ्कबाट करोडौँ ऋण लिएर फार्म चलाइएको थियो, बिक्री गर्ने बेलामा कुखुरा नष्ट गर्नुप¥यो” लेयर्स कुखुरापालक सङ्घ मोरङ–सुनसरीका अध्यक्ष होम बास्कोटाले भने, “सरकारले तत्काल उचित क्षतिपूर्ति नदिए किसानसँग आत्महत्याको विकल्प रहँदैन ।”
सरकारी अधिकारीहरू भने राहत वितरणको प्रक्रिया अघि बढेको दाबी गर्छन् । डा. दिवालीका अनुसार ‘बर्डफ्लु रोग नियन्त्रण नियमावली’ बमोजिम क्षतिपूर्तिको प्रक्रिया सुरु गरिएको छ । “जिल्ला दररेट निर्धारण समितिले क्षतिको मूल्याङ्कन गरी पठाएको विवरण हामीले सङ्घमा पठाइसकेका छौँ” उनले भनिन्, “सरकारी झन्झटिलो प्रक्रियाका कारण केही समय लागे पनि किसानले नियमानुसार राहत पाउनेछन् ।”