विजयपुर । लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा सङ्घ र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको क्रिकेट रङ्गशालाको औपचारिक रूपमा शिलान्यास गरिएको छ ।

बिहीबार नगरप्रमुख महेशप्रसाद चौधरीले एक विशेष समारोहबीच रङ्गशालाको शिलान्यास गरेका हुन् । नगरपालिकाको गौरवको आयोजनाका रूपमा हेरिएको यस रङ्गशालाले स्थानीयस्तरमा रहेका क्रिकेट प्रतिभालाई प्रस्फुटन गराउन र ठूला प्रतियोगिताहरू आयोजना गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । रङ्गशाला निर्माणका लागि कुल आठ करोड २३ लाख रुपैयाँको लागत अनुमान गरिएको थियो । प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ३० प्रतिशत ‘बिलो’ मा पाँच करोड ६२ लाखमा निर्माणको सम्झौता भएको नगरप्रमुख चौधरीले जानकारी दिइन् । यस आयोजनामा सङ्घीय सरकार र स्थानीय सरकारको संयुक्त लगानी रहेको छ । कुल लागतमध्ये तीन करोड रुपैयाँ सङ्घीय बजेटबाट प्राप्त भएको छ भने बाँकी लहान नगरपालिकाले व्यहोर्ने गरी आर्थिक स्रोत सुनिश्चित गरिएको छ । न्यून दरमा ठेक्का लागेकाले कामको गुणस्तरमा प्रश्न उठ्न सक्ने भन्दै नगरपालिकाले विशेष सतर्कता अपनाएको उहाँको भनाइ छ ।

लहान नगरपालिकाका योजना प्रमुख अनिक यादवले निर्माण कम्पनीलाई गुणस्तरबारे सचेत गराउँदै भने, “धेरै न्यून दरमा आयोजनाको जिम्मेवारी लिए पनि निर्माण कम्पनीलाई कामको गुणस्तरमा कुनै छुट दिइने छैन । हामीले प्राविधिक टोलीमार्फत कडाइका साथ अनुगमन गर्नेछौँ र सम्झौता अनुसारकै स्तरीय संरचना निर्माण सुनिश्चित गर्नेछौँ ।”

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले लहानको समग्र विकासमा खेलकुद पूर्वाधार अनिवार्य रहेको बताए । उनले भने, “लहानमा क्रिकेटप्रतिको क्रेज लोभलाग्दो छ, तर हाम्रा खेलाडीहरूसँग अभ्यास गर्ने उचित मैदान थिएन । यो रङ्गशाला निर्माण भएसँगै लहान खेलकुदको केन्द्र बन्नेछ । हामीले आगामी २०८३ साल चैतभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।” यज्ञभूमि क्षेत्रमा निर्माण हुन लागेको यो रङ्गशालाले स्थानीय अर्थतन्त्र र पर्यटनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । रासस