विजयपुर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित कालिन्द्र सामुदायिक वन (पकली–चतरा सडक खण्ड) बाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलबार अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको टोलीले पकलीबाट उदयपुरतर्फ जाँदै गरेको स १० प ४५१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–६ का २६ वर्षीय राज राई र सोही स्थानका २७ वर्षीय खुसे राई रहेका छन् । उनीहरूले बोकेको झोलाबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल १ हजार ६१० क्याप्सुल र स्पास्पेन १ हजार ६०९ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनालाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको छ ।